काठमाडौं,०८ जेठ । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ को प्लेअफमा मुम्बई इन्डियन्स अन्तिम टोलीका रूपमा प्रवेश गरेको छ। बुधबार भएको निर्णायक खेलमा मुम्बईले दिल्ली क्यापिटल्सलाई ५९ रनले पराजित गर्दै प्लेअफको टिकट पक्का गरेको हो।
यस जितसँगै मुम्बईको १३ खेलबाट १६ अंक पुगेको छ, र उसले दिल्लीलाई प्लेअफ दौडबाट बाहिर धकेल्दै तीन अंकले पछि पार्यो। मुम्बईसँग अझै एक खेल खेल्न बाँकी छ।
यसअघि गुजरात टाइटन्स (१८ अंक), र रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) र पञ्जाब किंग्स (१७–१७ अंक) प्लेअफमा पुगिसकेका थिए।
खेलमा मुम्बईका लागि सूर्यकुमार यादवले चम्किलो प्रदर्शन गर्दै ४३ बलमा अविजित ७३ रन बनाए। उनले ७ चौका र ४ छक्का प्रहार गरे। अन्तिम क्षणमा नमन धीरले ८ बलमा अविजित २४ रन (२ चौका, १ छक्का) जोडेपछि मुम्बईले २० ओभरमा ५ विकेट गुमाउँदै १८० रनको चुनौतीपूर्ण स्कोर खडा गर्यो।
जवाफमा आएको दिल्ली क्यापिटल्सको ब्याटिङ धराशायी भयो। टोली १८.२ ओभरमै १२१ रनमा समेटियो। मिचेल सान्टनर र जस्प्रित बुमराहले समान ३ विकेट लिएर दिल्लीको व्याटिङ लाइनअपलाई तहसनहस बनाए।
दिल्लीका समीर रिज्भीले केही प्रतिरोध गरे पनि उनका ३९ रन टोलीलाई जित नजिक पुर्याउन पर्याप्त भएन। विपराज निगमले २० रन बनाए।
मुम्बईको यो जितले प्लेअफ समीकरण पूर्ण भएको छ भने अब उपाधिका लागि चार उत्कृष्ट टोलीबीच प्रतिस्पर्धा चर्किदै जानेछ।

