काठमाडाैं,०८ जेठ । बुधबार साँझ भारतको उत्तर प्रदेशसहितका विभिन्न क्षेत्रमा आएको भीषण आँधीबेहरीले जनधनमा ठूलो क्षति पुर्याएको छ। बीबीसीका पत्रकार सैयद मोजिज इमामका अनुसार उत्तर प्रदेशमा मात्र कम्तीमा १४ जनाको ज्यान गएको पुष्टि भएको छ।
भारतको मौसम विभागले उत्तर प्रदेशका ४७ जिल्लामा सम्भावित थप जोखिमको चेतावनी जारी गर्दै सतर्क रहन आग्रह गरेको छ। आँधीपछि उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको कार्यालयले सामाजिक सञ्जाल प्लेटफर्म ‘एक्स’ मार्फत सम्बन्धित प्रशासनिक निकायलाई राहत र उद्धार कार्य शीघ्र सम्पन्न गर्न निर्देशन दिएको छ।
बुधबार आएको आँधीको प्रभाव उत्तर प्रदेशमा मात्र सीमित रहेन। दिल्लीका विभिन्न क्षेत्रमा समेत आँधीका कारण रुख ढल्दा सवारी साधनमा क्षति पुगेको र यातायात अवरुद्ध भएको छ। मेट्रो सेवा समेत प्रभावित भएको जनाइएको छ।

