काठमाडौं,२२ वैशाख । समस्याग्रस्त सहकारीका बचतकर्ताले लामो समयदेखि प्रतिक्षा गर्दै आएको बचत रकम अब जेठको पहिलो सातादेखि फिर्ता पाउने भएका छन्। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले मंगलबार कार्ययोजना सार्वजनिक गर्दै बचत फिर्ता प्रक्रिया सुरु गर्न लागिएको जानकारी दिएको हो।
समितिका अनुसार माग दाबी पेश गरेका बचतकर्तालाई पहिलो चरणमा रकम फिर्ता गरिनेछ। यस्तै, छुट भएका बचतकर्ताका लागि आगामी साउनको पहिलो साताबाट पुनः माग दाबी दर्ता खुला गरिने जनाइएको छ।
समितिले सहकारीका ऋणीहरूप्रति पनि कडा नीति अपनाउने संकेत दिएको छ। किस्ताबन्दीमार्फत कर्जा तिर्न लिखित प्रतिबद्धता जनाउनेलाई केही समय दिइने भए पनि कर्जा नतिर्ने व्यक्तिको तीनपुस्तेसम्मको नाम सार्वजनिक गर्ने र परिवारका सदस्यलाई समेत कालोसूचीमा राख्ने चेतावनी दिइएको छ।
हाल समस्याग्रस्त सहकारीहरूमा करिब ७६ हजार बचतकर्ताको झण्डै ४६ अर्ब रुपैयाँ फिर्ता हुन बाँकी रहेको समितिले जनाएको छ।

