काठमाडौं,१९ जेठ । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गतको नयाँ शृंखला आजदेखि स्कटल्याण्डमा सुरु हुँदैछ। नेपाल, स्कटल्याण्ड र नेदरल्याण्ड्स सम्मिलित यस त्रिकोणात्मक एकदिवसीय शृंखलाको उद्घाटन खेलमा नेपालले स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ।
खेल नेपाली समय अनुसार अपराह्न ३:४५ बजे स्कटल्याण्डको डुन्डीस्थित मैदानमा सुरु हुनेछ।
नेपाल र स्कटल्याण्डबीचको पछिल्ला भेटवार्तामा नेपाल बलियो प्रदर्शन गर्दै आएको छ। हालसम्म खेलेका ८ ओडिआई खेलमा नेपालले ४ जित निकालेको छ भने स्कटल्याण्डले ३ जित्दा १ खेल वर्षाले रोकिएको थियो। पछिल्ला ४ खेलमध्ये ३ मा नेपाल विजयी भएको छ भने १ खेल नतिजाविहीन रह्यो।
सन् २०२३ मा कीर्तिपुरमा भएको शृंखलामा नेपालले स्कटल्याण्डलाई दुबै खेलमा हराउँदै शृंखला क्लिन स्वीप गरेको थियो। यद्यपि, यसपटक स्कटल्याण्डको घरेलु मैदानमा खेलिन लागेको हुँदा चुनौती बढेको छ।
नेपालले शृंखलाअघि बेलायतमा विभिन्न काउन्टी टिमसँग अभ्यास खेल खेल्दा अपराजित रहन सफल भएको थियो। स्कटल्याण्ड प्रवेश गरेपछि पनि स्कटल्याण्ड ए टोलीसँग अभ्यास खेलेको नेपालले एक खेल गुमाए पनि अर्को खेलमा सशक्त प्रदर्शन गर्दै ४५ ओभरमा २५३ रन बनाएको थियो। तर वर्षाले खेल रोकिएको थियो।

