काठमाडौं,२० जेठ । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत स्कटल्याण्डमा जारी सिरिजको पहिलो खेलमा घरेलु टोली स्कटल्याण्डलाई १ विकेटले पराजित गर्दै रोमाञ्चक जित निकालेको छ।
फोर्थहिल क्रिकेट मैदानमा सोमबार सम्पन्न खेलमा २९७ रनको विशाल लक्ष्य पछ्याउँदै नेपालले अन्तिम बलमा ९ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो। खेलको निर्णायक क्षणमा करण केसीले अन्तिम बल खेल्दा १ रन आवश्यक थियो। उनले रनको प्रयास गर्दा अर्का ब्याट्सम्यान रिजन ढकाल रनआउट भए पनि बल वाइड दिइएपछि नेपाल विजयी भयो।
नेपालको जितमा करण केसी नायक बने। उनले ४१ बलमा ३ चौका र ४ छक्का प्रहार गर्दै अविजित ६५ रन बनाए। टिम दबाबमा रहँदा करणले आक्रामक ब्याटिङ प्रदर्शन गर्दै खेललाई जितसम्म पुर्याए।
नेपालको पारीको सुरुवात कुशल भुर्तेल र आसिफ शेखले गर्दै ७२ रनको ओपनिङ साझेदारी गरे। कुशलले ४४ बलमा ११ चौकाको सहयोगमा ५३ रन बनाए।
टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्याण्डले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा २९६ रन बनाएको थियो। चार्ली टियरले सर्वाधिक ८० रन बनाए।नेपालका लागि बलिङतर्फ करण केसी, सोमपाल कामी र रिजन ढकालले समान २–२ विकेट लिए भने सन्दीप लामिछानेले १ विकेट लिए।
यो जितसँगै ८ टोली सहभागी विश्वकप लिग टू मा नेपालले १३ खेलमा ८ अंक बटुल्दै सातौं स्थानमा उक्लिएको छ। पराजित स्कटल्याण्ड भने १७ खेलमा २० अंकसहित चौथो स्थानमा यथावत् छ।

