वीरेन्द्रनगर,२१ जेठ । यु-१६ राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेस प्रदेशले गण्डकी प्रदेशविरुद्ध प्रभावशाली प्रदर्शन गर्दै लगातार दोस्रो जित हात पारेको छ। बुधबार सम्पन्न खेलमा मधेसका अभय यादवको घातक बलिङको मद्दतले गण्डकीलाई १०४ रनमै समेट्दै मधेसले ५ विकेटको सहज जित दर्ता गर्यो।
अभयले ८.२ ओभर बलिङ गर्दै मात्र १९ रन खर्चिएर ७ विकेट लिँदै विपक्षी ब्याटिङ लाइन ध्वस्त बनाए। सुरुवाती तीन ब्याटरलाई थोरै रनमै पेवेलियन फर्काएका उनले गण्डकीका अन्य खेलाडीलाई पनि दबाबमा राख्दै ‘प्लेयर अफ द म्याच’ बन्न सफल भए।
गण्डकीले टस जितेर ब्याटिङ रोजेको इनिङ ३२.२ ओभरमै समाप्त भयो। गण्डकीका रोज श्रेष्ठले सर्वाधिक २० रन बनाए भने अन्य कुनै पनि ब्याटर उल्लेखनीय प्रदर्शन गर्न सकेनन्।
१ सय ५ रनको लक्ष्य लिएर मैदान उत्रिएको मधेसले १४.१ ओभरमै लक्ष्य भेट्टायो। मधेसका सुशान्त सिंहले १५ बलमा २५ रन बनाउँदै पारीलाई तीव्र गतिमा अघि बढाए। शेख अरमानले २३, माहि यादवले १३ र नुमैर यादवले १० रन बनाउँदै टिमलाई जितसम्म पुर्याए।

