काठमाडौं,२५ जेठ । स्कटल्याण्डको डुन्डीमा जारी आईसीसी विश्वकप लिग २ अन्तर्गत नेपालले आज तेस्रो खेलमा घरेलु टोली स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ। खेल नेपाली समयअनुसार अपरान्ह ३:४५ बजे सुरु हुनेछ।
नेपाल र स्कटल्याण्डबीच यो शृंखलाको दोस्रो भेट हुनेछ। गत सोमबार पहिलो भिडन्तमा नेपालले कीर्तिमानी प्रदर्शनसहित रोमाञ्चक जित निकाल्दै आत्मविश्वास बढाएको थियो। त्यसपछि बुधबार नेदरल्याण्ड्सविरुद्ध पनि उत्कृष्ट खेल देखाउँदै लगातार दोस्रो जित हात पारेको नेपाल आज पुनः स्कटिश टोलीमाथि दबाब बनाउने रणनीतिमा हुनेछ।
दुई टोलीबीच पछिल्ला भेटघाटहरूको हिसाब गर्दा नेपाल स्कटल्याण्डमाथि मजबुत सावित हुँदै आएको छ। सन् २०२३ देखि भएका पाँच खेलमध्ये नेपालले चार खेल जितेको छ भने एक खेल वर्षाले नतिजाविहीन भएको थियो। पछिल्लो पटक २०२४ को अक्टोबरमा अमेरिकाको डलासमा भएको शृंखलामा नेपालले स्कटल्याण्डलाई हराएको थियो।
कीर्तिपुरमा सन् २०२३ फेब्रुअरीमा भएको शृंखलामा पनि नेपालले लगातार दुई खेलमा स्कटिश टोलीलाई पराजित गरेको थियो। हालसम्म ओडिआईमा दुबै टोलीबीच भएका ९ खेलमध्ये नेपालले ५ खेल जितेको छ भने स्कटल्याण्डले ३ जित निकाल्दा १ खेल नतिजाविहीन भएको छ।
अंकतालिकामा हालसम्म नेपालले १४ खेलमा १० अंक जोडेको छ र सातौं स्थानमा रहेको छ।

