नेपाल स्कटल्यान्डसँग रोमाञ्चक खेलमा २ रनले पराजित

spot_img

काठमाडौं,२६ जेठ । आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत स्कटल्यान्डमा जारी त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा नेपालले घरेलु टोली स्कटल्यान्डसँग २ रनको झिनो हार बेहोरेको छ। डुन्डेमा रहेको फोर्टहिल मैदानमा खेलिएको यस प्रतिस्पर्धात्मक खेलमा ३२४ रनको लक्ष्य पछ्याउँदै नेपाल ५० ओभरमा ३२१ रनमै अलआउट भयो।

नेपालका लागि भीम सार्कीले उत्कृष्ट प्रदर्शन गर्दै ८५ बलमा ८ चौकासहित ७३ रन बनाए। उनले आरिफ शेखसँग मिलेर चौथो विकेटका लागि ९४ रनको साझेदारी गरेका थिए। शेखले ५५ बलमा ५ चौकासहित ३९ रन जोडे।

त्यस्तै, उपकप्तान दीपेन्द्रसिंह ऐरी र सोमपाल कामीको सातौँ विकेटका लागि १०५ रनको साझेदारी निकै महत्त्वपूर्ण रह्यो। ऐरीले ५१ बलमा २ चौका प्रहार गर्दै ५६ रन बनाए भने सोमपालले आक्रामक पारी खेल्दै ४४ बलमा ३ चौका र ४ छक्कासहित ६७ रन जोडे।

बलिङतर्फ स्कटल्यान्डका म्याकेन्जी जोन्सले ३ विकेट लिए भने शफिया शरिफ र माइकल लिस्कले समान २-२ विकेट लिए। ब्रान्डन म्याकमुलेन र चार्ली कासेलले १-१ विकेट हात पारे।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३२३ रनको चुनौतीपूर्ण स्कोर खडा गरेको थियो। कप्तान रिची बेरिङ्टनले ११४ बलमा ६ चौका र ४ छक्कासहित १०२ रन बनाए। माइकल लिस्कले आक्रामक ब्याटिङ गर्दै ६२ बलमा १२ चौका र ३ छक्कासहित अविजित ९६ रन जोडे। त्यस्तै चार्ली टियरले ६८ रन, मार्क वाटले नटआउट २१ तथा फिनले म्याकक्रियाथले १७ रन बनाए।

नेपालका लागि करण केसी र दीपेन्द्रसिंह ऐरीले समान २-२ विकेट लिए भने ललितनारायण राजवंशीले १ विकेट लिए।

spot_img

ताजा अपडेट

लोकप्रिय