मकवानपुर,३० जेठ । हेटौंडा उपमहानगरपालिका–१८ स्थित रामधुनीबाट सुनका गहना चोरी भएको घटनामा संलग्न भएको अभियोगमा तीन युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय मकवानपुरले बिहीबार उनीहरूलाई नियन्त्रणमा लिएको हो।
३० वर्षीया उषा परियारको घरबाट सुनको तिलहरी चोरी भएपछि पीडितले प्रहरीमा उजुरी दिएकी थिइन्। उजुरीको आधारमा सुरु गरिएको अनुसन्धानका क्रममा हेटौंडा–१८ मा अवस्थित ठूलोदमार प्रहरी चौकीबाट खटिएको टोलीले तीन जना युवालाई पक्राउ गर्न सफल भएको हो।
पक्राउ परेका व्यक्तिहरूमा हेटौंडा–१८ रामधुनीका २४ वर्षीय उपेन्द्रबहादुर विश्वकर्मा, ३० वर्षीय सञ्जिव गोतामे र हेटौंडा–४ का २५ वर्षीय सन्तबहादुर बराइली रहेका छन्। प्रहरीले उनीहरूको साथबाट चोरी भएको तिलहरीसमेत बरामद गरेको जनाएको छ।
मकवानपुर जिल्ला अदालतबाट ५ दिनको म्याद लिई उनीहरूलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ। प्रहरीका अनुसार घटनामा अन्य व्यक्ति संलग्न भएको आशंका पनि गरिएको छ, जसका लागि अनुसन्धान विस्तार गरिएको छ।

