काठमाडौं,१९ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा थप तीन वटा अध्यादेश जारी गरेका छन्।
राष्ट्रपतिद्वारा जारी अध्यादेशहरूमा स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐन संशोधन अध्यादेश २०८३, सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश २०८३ तथा विश्वविद्यालयसम्बन्धी केही नेपाल ऐन संशोधन अध्यादेश २०८३ रहेका छन्।
त्यसैगरी सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश २०८३ पनि राष्ट्रपति पौडेलले संविधानको धारा ११४ को उपधारा (१) बमोजिम जारी गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले जानकारी दिएका छन्।
यसअघि पनि राष्ट्रपति पौडेलले सहकारी र सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरिसकेका थिए।
यसबीच सरकारले संवैधानिक परिषद्सहितका थप केही अध्यादेश जारी गर्न सिफारिस गरेको भए पनि तीमध्ये केहीबारे राष्ट्रपति कार्यालयले अझै अध्ययन गरिरहेको जनाएको छ।
राष्ट्रपति पौडेलले यस विषयमा कानुनविद्हरूसँग छलफल समेत गरेको शीतल निवास स्रोतले जनाएको छ।

