नेकपाको महाधिवेशन मङ्सिर ११–१५ काठमाडौंमा हुने

spot_img

काठमाडौं,१९ वैशाख । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आगामी मङ्सिरमा एकता राष्ट्रिय महाधिवेशन आयोजना गर्ने निर्णय गरेको छ। पार्टीले महाधिवेशन आगामी मङ्सिर ११ देखि १५ गतेसम्म काठमाडौंमा गर्ने घोषणा गरेको हो।

पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा बसेको केन्द्रीय कार्य संयोजन समितिको बैठकले महाधिवेशनसँगै संगठनात्मक संरचना पुनर्गठन गर्ने महत्वपूर्ण निर्णय पनि गरेको छ।

बैठकले आगामी साउन मसान्तसम्म सदस्यता नवीकरण र विस्तार अभियान सञ्चालन गर्ने, भदौ १५ भित्र वडा अधिवेशन सम्पन्न गर्ने तथा भदौ १६ देखि मसान्तसम्म पालिका तहका अधिवेशन गर्ने तय गरेको छ। त्यसैगरी असोज मसान्तसम्म जिल्ला र कात्तिक १५ गतेसम्म प्रदेश अधिवेशन सम्पन्न गर्ने योजना बनाइएको छ।

प्रवक्ता प्रकाश ज्वालाका अनुसार जेठ मसान्तभित्र केन्द्रदेखि वडा तहसम्मका संगठनात्मक संरचना तथा जनवर्गीय मोर्चाहरूको एकीकरण र समायोजन पूरा गरिनेछ।

पार्टीले सबै तहका कमिटीहरू समानुपातिक र समावेशी आधारमा गठन हुने जनाएको छ। साथै, युवा र नवयुवाको प्रतिनिधित्व कम्तीमा ५० प्रतिशतसम्म पुर्‍याइने लक्ष्य लिइएको छ।

यसैबीच, पार्टीले संविधान संशोधनसम्बन्धी सुझाव दिन ११ सदस्यीय कार्यदल गठन गरेको छ। उक्त कार्यदलमा वरिष्ठ नेता तथा कानुनविद्हरूको सहभागिता रहेको छ।

पार्टी एकीकरणपछि गठन भएको कार्यसंयोजन समितिको हालै सम्पन्न बैठकले अन्तरिम विधान २०८२ अनुसार केन्द्रीय कार्यसमितिलाई पूर्णता दिने निर्णय पनि गरेको प्रवक्ता ज्वालाले जानकारी दिएका छन्।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय