बीरगन्ज,१९ वैशाख । पर्सा जिल्लामा चालु आर्थिक वर्ष २०८२/८३ को चैत महिनामा मात्रै ६७ वटा घरेलु हिंसासम्बन्धी उजुरी दर्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार तीमध्ये अधिकांश घटनाहरू मिलापत्रमार्फत समाधान गरिएको छ।
प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतका अनुसार दर्ता भएका ६७ उजुरीमध्ये ६४ वटा घटनामा आपसी सहमतिमै मिलापत्र गराइएको हो। उनका अनुसार घरेलु विवादलाई कानुनी प्रक्रियाभन्दा पनि समुदाय र परिवारकै सहमतिमा समाधान गर्ने प्रवृत्ति देखिएको छ।
सबैभन्दा धेरै उजुरी बीरगन्ज महानगरपालिकाबाट आएका छन्। यहाँबाट मात्रै ४६ वटा उजुरी दर्ता भएका मध्ये ४३ वटा मिलापत्रमार्फत टुंग्याइएको प्रहरीले जनाएको छ। जनसंख्या र शहरी घनत्व बढी भएकाले वीरगञ्जमा उजुरी संख्या बढी देखिएको बताइएको छ।
त्यस्तै बहुदरमाई नगरपालिकाबाट ६, पोखरियाबाट २ र पर्सागढीबाट १ वटा उजुरी दर्ता भएका छन्। गाउँपालिकातर्फ सखुवा प्रसौनीबाट ५, बिन्दबासिनीबाट २, जगरनाथपुरबाट १, कालिकामाईबाट २ तथा जिराभवानी र पटेर्वासुगौलीबाट १/१ वटा उजुरी दर्ता भएका छन्।
यता पकाहामैनपुर, ठोरी र छिपहरमाई गाउँपालिकाबाट भने चैत महिनामा घरेलु हिंसासम्बन्धी कुनै उजुरी नपरेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार धेरैजसो घटनामा परिवारका सदस्य र स्थानीय अगुवाको उपस्थितिमा सहमति जुटाएर समाधान गरिएको छ।

