काठमाडौं,०४ असार । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सार छलीको प्रयास असफल बनाउँदै प्रहरीले एक भारतीय महिला यात्रुबाट अन्दाजी १ किलो १५९ ग्राम अर्धठोस सुन बरामद गरेको छ।
५३ वर्षीया मीना सुर्जित सिंह खेमानीलाई मंगलबार राति एयर अरेबियाको शारजाह–काठमाडौं उडानबाट अवतरण गरेपछि आगमन भन्सार क्षेत्रको टनेल नजिक पक्राउ गरिएको हो।
नेपाल प्रहरीको टोलीले शंका लागेपछि खेमानीको विस्तृत जाँच गर्दा प्लास्टिकले बेरिएको अवस्थामा तीन वटा सुनका डल्ला भेटिएको जनाएको छ।
बरामद गरिएको सुन अर्धठोस अवस्थामा रहेको र यसको तौल १ किलो १५९ ग्राम रहेको छ। प्रारम्भिक अनुसन्धानपछि खेमानीमाथि भन्सार ऐनअनुसार कारबाही प्रक्रिया अघि बढाइएको विमानस्थल सुरक्षा स्रोतले जनाएको छ।
नेपालमा सुन तस्करीविरुद्ध निगरानी कडा पारिएको समयमा पुनः यस्ता घटना दोहोरिनु सुरक्षाको चुनौतीको रूपमा देखिएको छ।



