बारा,०९ असार । लैया उपमहानगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि १ अर्ब ७२ करोड ७३ लाख ८७ हजार ७ सय ३९ रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेको छ। उपमहानगरको सोमबार बसेको नगर सभामा उपमेयर रौशन प्रविनले बजेट प्रस्तुत गर्दै कृषि, भौतिक पूर्वाधार, शिक्षा र स्वास्थ्यलाई विशेष प्राथमिकता दिइएको जानकारी दिइन्।
उनका अनुसार बजेटले नगरको समग्र विकास, पूर्वाधार विस्तार, तथा सामाजिक क्षेत्रमा आवश्यक लगानी सुनिश्चित गर्ने लक्ष्य राखेको छ। “बजेट स्थानीय आवश्यकता र प्राथमिकताका आधारमा तयार पारिएको हो,” प्रविनले बताइन्।
बजेट सार्वजनिक कार्यक्रममा मेयर विनोद साह, प्रमुख प्रशासकीय अधिकृत नाथु साह, वडा अध्यक्षहरू, नगर कर्मचारी तथा स्थानीय सर्वसाधारणको उल्लेखनीय उपस्थिति थियो। नगरपालिकाले विगतका बजेटको तुलनामा यसपालि समावेशी योजना र प्रभावकारी खर्च प्रणालीलाई बलियो बनाउने योजना अघि सारेको छ।



