झापा,२१ असार । झापामा डेंगु संक्रमणबाट एक ११ वर्षीया बालिकाको मृत्यु भएको छ। शिवसताक्षी नगरपालिका निवासी सुमन राईकी छोरी सुरविरा राईको डेंगुका कारण मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय, झापाले पुष्टि गरेको छ। स्वास्थ्यमा समस्या देखिएपछि बिहीबार झापाको बीएण्डसी अस्पतालमा भर्ना गरिएकी सुरविराको उपचारकै क्रममा शुक्रबार बिहान ८ः२५ बजे मृत्यु भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ।
स्वास्थ्य कार्यालय झापाका डेंगु फोकल पर्सन युवनाथ बरालका अनुसार, सुरविरा चालु वर्षमा डेंगु संक्रमणबाट मृत्यु हुने पहिलो व्यक्ति हुन्। गत वर्ष डेंगुका कारण जिल्लामा दुई जनाको मृत्यु भएको थियो। बरालका अनुसार, अहिले जिल्लाभरि डेंगुका ५५ जना संक्रमित उपचाररत छन्। तीमध्ये बीएण्डसी अस्पतालमा ४८, दमकमा १ र गौरादहमा ६ जना उपचाररत छन्। संक्रमितमध्ये सबैभन्दा बढी बिर्तामोड क्षेत्रका रहेको जनाइएको छ।
मनसुन सुरु भएसँगै जिल्लामा डेंगु संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै गएको छ। डेंगु प्रायः असारदेखि असोज महिनासम्म बढी देखिए पनि झापामा भने वर्षैभरि संक्रमण देखिने गरेको बरालले बताए। स्वास्थ्य कार्यालयले डेंगु संक्रमण न्यूनीकरणका लागि सावधानी अपनाउन र समयमै चिकित्सकको परामर्श लिन आग्रह गरेको छ।
यस वर्ष देशभरि डेंगु संक्रमितको संख्या ६० हजार नाघ्न सक्ने सरकारको अनुमान छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले यसका लागि आवश्यक कार्ययोजना तयार पारेको छ। महाशाखाका अनुसार, डेंगु संक्रमण साउनदेखि बढ्दै भदौ र असोजमा उच्चतम अवस्थामा पुग्नेछ भने कात्तिकदेखि घट्न थाल्नेछ।



