भूमि विधेयक फिर्ता नलिए जनविद्रोह हुन्छ : जसपा अध्यक्ष यादव

spot_img

राजविराज,१५ साउन । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारले ल्याउन खोजेको भूमि सम्बन्धी विधेयक फिर्ता नलिए मधेशमा जनविद्रोह हुने चेतावनी दिएका छन्।

सप्तरीको राजविराजमा बुधबार आयोजित जसपा नेपालको प्रथम जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रममा बोल्दै यादवले यो विधेयकलाई मधेश विरोधी र जबरजस्ती थोपिन खोजिएको षड्यन्त्रको संज्ञा दिए। उनले भने, “सरकार चुपचाप चुरे क्षेत्र फडानी गरेर पहाडका मानिसलाई अवैध रूपमा मधेशमा बसोबास गराउने षड्यन्त्रमा छ, यो स्वीकार्य छैन।”

यादवले भूमि विधेयकको बिरोध गर्दै मधेशी जनतालाई सचेत र तयार रहन आग्रह गरे। उनका अनुसार, यो विधेयक मधेशको पहिचान, अस्तित्व र भूमिसम्बन्धी अधिकारमाथि आक्रमण हो।

उनले चुरे क्षेत्रलाई अन्धाधुन्ध रुपमा फडानी गर्दा जलस्रोत र भू-उपयोग प्रणालीमा गम्भीर असर पर्ने भन्दै मधेश जल संकटतर्फ उन्मुख भएको चेतावनी पनि दिए। “चुरे संरक्षण नगरे मधेश मरुभूमि बन्छ,” यादवले भने।

यादवले वर्तमान बजेट वितरणप्रति गम्भीर आपत्ति जनाउँदै भने, “देशको ४० प्रतिशत जनसंख्या रहेको मधेशलाई जम्मा ११ प्रतिशत मात्र बजेट दिइएको छ, जब कि अन्य ६० प्रतिशतलाई ८९ प्रतिशत। यो विभेद अन्त्य हुनुपर्छ।”

अध्यक्ष यादवले संविधान संशोधनको माग गर्दै प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको व्यवस्था, जनसंख्याको आधारमा समानुपातिक प्रतिनिधित्व, र संघीयताको मर्म अनुसार प्रदेशलाई अधिकार सम्पन्न बनाउने व्यवस्था आवश्यक रहेको बताए। उनले भने, “प्रदेशलाई न अधिकार छ, न प्रहरी, न कर्मचारी। प्रदेश सरकार अधिकारविहीन छ।”

कार्यक्रममा विभिन्न राजनीतिक दलका नेताहरूले पनि शुभकामना मन्तव्य दिएका थिए। जसपा नेपालका मधेश प्रदेश अध्यक्ष बालकिशोर यादव, माओवादी केन्द्रका सूर्यनाथ यादव, राष्ट्रिय मुक्ति पार्टीका दीपेन्द्र चौधरी, जनमत पार्टी, रास्वपा, लोकतान्त्रिक समाजवादी पार्टीलगायतका नेताहरू उपस्थित थिए।

spot_img

ताजा अपडेट

लोकप्रिय