देश निर्माणका लागि सबै दलको एकता आवश्यक : सांसद शाही

spot_img

काठमाडौं,१९ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले मुलुकको समुन्नति र स्थायीत्वका लागि सबै राजनीतिक दलहरू एकजुट हुनुको विकल्प नभएको बताएका छन्।

हाल अमेरिकाको भ्रमणमा रहेका सांसद शाहीले डिसी नेपालसँगको विशेष संवादमा भने, “देश बनाउने मूल उद्देश्य सबै दलको साझा हो, तर दुर्भाग्यवश अहिले राम्रा शक्तिहरू विभाजित छन् र खराब प्रवृत्तिहरू सशक्त हुँदै गएका छन्।”

शाहीले देश निर्माणका सवालमा दलगत राजनीतिभन्दा माथि उठेर राष्ट्रहितमा सोच्न आग्रह गरे।

सांसद शाहीले विदेशमा रहेर ज्ञान, सीप र अनुभव हासिल गरिरहेका नेपालीहरूलाई मातृभूमिको सेवामा फर्किनु पर्नेमा पनि जोड दिए। “देशलाई अब अनुभव र दक्ष जनशक्तिको खाँचो छ, त्यसका लागि विदेशमा रहेका नेपालीहरूले स्वदेश फर्केर योगदान दिनुपर्छ,” उनले भने।

शाहीले नेपालको हालको निर्वाचन प्रणाली अत्यधिक खर्चिलो भएको भन्दै त्यसलाई सुधार गर्नुपर्ने बताए। “निर्वाचन खर्च कटौती नगरेसम्म स्वच्छ राजनीति सम्भव छैन,” उनले जोड दिए।

देशको विकास, पारदर्शी शासन र जनतामुखी प्रणालीका लागि सबै दल, समाजका राम्रा तत्वहरू र जनशक्ति मिलेर अगाडि बढ्नुपर्ने शाहीको भनाइ छ।

spot_img

ताजा अपडेट

लोकप्रिय