बीरगन्ज,२३ साउन । बैंकिङ कसूरको मुद्दामा दोषी ठहर भई फरार रहेका वीरगञ्ज–१६ का ३४ वर्षीय सुनिल कुमार साहलाई पर्सा प्रहरीले पक्राउ गरेको छ। जिल्ला अदालतको फैसलापछि सजाय भुक्तान नगरी लुकिछिपी बसेका साहलाई बिहीबार पक्राउ गरिएको प्रहरीले जनाएको छ।
जिल्ला अदालत पर्साले बैंकिङ कसूरसम्बन्धी मुद्दा नं. ०८०-C१-०९६२, लगत नं. ६३०९ अन्तर्गत साहलाई १० दिन कैद र ३० लाख रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो। अम्बे इन्टरप्राइजेज प्रा.लि.का सञ्चालक रहेका साहमाथि देवेन्द्र कुमार कर्णले जाहेरी दर्ता गराएका थिए।
फैसला कार्यान्वयन टोलीले उनलाई पक्राउ गरी अदालतमा पेश गरेको पर्साका प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिए। उनका अनुसार साह लामो समयदेखि फरार थिए र प्रहरी निगरानीमा थिए।
हाल साहलाई आवश्यक अनुसन्धान र कानुनी प्रक्रियाका लागि प्रहरी हिरासतमा राखिएको छ।

