काठमाडौँ, २३ साउन । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्र बानियाँले साउन २७ गते प्रदेश सभाबाट विश्वासको मत लिने तयारी गरेका छन्। एमाले–कांग्रेस गठबन्धनको समर्थनमा साउन २० गते सरकारको नेतृत्व सम्हालेका बानियाँले संविधान बमोजिमको प्रक्रिया अगाडि बढाउँदै विश्वासको मत लिने प्रस्ताव अघि सारेका हुन्।
प्रदेशसभा सचिवालयका अनुसार बानियाँले साउन २७ गतेका लागि बैठक आह्वान गर्न सभामुख भुवनकुमार पाठकलाई औपचारिक आग्रह गरेका छन्। संविधानको धारा १६८(४) र प्रदेश सभा नियमावली २०७४ को नियम १४३(१०) अनुसार मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनु पर्ने प्रावधान छ। बानियाँको हकमा यो समय सीमा भदौ १८ गतेभित्र पर्छ।
कांग्रेसका बागमती प्रदेश सभापति समेत रहेका बानियाँ ६४ सांसदको समर्थनमा मुख्यमन्त्री बनेका हुन्। नेपाली कांग्रेसका ३७ र एमालेका २७ सांसदको समर्थन उनले प्राप्त गरेका छन्।
मुख्यमन्त्री बानियाँले आफ्नो पार्टीभित्रको शक्ति सन्तुलनमा समेत निर्णायक विजय हासिल गरेका थिए। उनले नेपाली कांग्रेसको बागमती संसदीय दलमा नेता चयनको क्रममा बहादुरसिंह लामामाथि अविश्वास प्रस्ताव ल्याएर पराजित गरेपछि दलको नेताका रूपमा उदाएका थिए। त्यसपछि दलको नेतृत्व सम्हालेका बानियाँले लामालाई मुख्यमन्त्री पदबाट राजीनामा गराउँदै सत्ता सम्हालेका हुन्।

