रौतहटको माधवनारायण–६ माधोपुरकी ३० वर्षीया रुबी साहको हत्या आरोपमा बुधबार बिहान लक्ष्मण पासवान पक्राउ परे । तीनै लक्ष्मण १४ वर्षअघि रुबीलाई अपहरण गरेकै आरोपमा पक्राउ परेको खुलेको छ ।
प्रहरीका अनुसार उनी त्यतिबेलै अपहरण तथा शारीरिक बन्धक, मानव बेचबिखनमा मुद्दामा १७ दिन हिरासत बसेको खुलेको छ । लक्ष्मणले रुबीलाई १४ वर्षको उमेरमा भगाएर भारत लगेका थिए । त्यसपछि रुबीको परिवारले लक्ष्मणसहित ३ जनाविरुद्ध अपहरणको मुद्दा दर्ता गराएका थिए ।
माधवनारायण–६ माधोपुरस्थित घरबाट २०६८ पुस २४ गते साँझ रुबी बेपत्ता भएकी थिइन् । परिवारका सदस्यले खोजतलास गर्दा फेला परिनन् । छिमेकी लक्ष्मण पासवानसमेतले घर छाडेको थाहा पाएपछि ध्यान उतै केन्द्रित भयो ।
आफैंलाई आगो लगाउनुअघि लक्ष्मणले भिडियो रेकर्ड गरेर रुबीको हत्या गरेको स्वीकारेका थिए
आफैंलाई आगो लगाउनुअघि लक्ष्मणले भिडियो रेकर्ड गरेर रुबीको हत्या गरेको स्वीकारेका थिए
भोलिपल्ट जिल्ला प्रहरी कार्यालय गौरमा लक्ष्मण, उनका काका बैजनाथ हजरा र भिनाजु खजान्ची पासवानविरुद्ध रुबीका परिवारले अपरहण तथा शरीर बन्धक, मानव बेचबिखन कसुरमा जाहेरी दर्ता गराएका थिए । लक्ष्मणले रुबीलाई अपरण गरी भारतको चण्डिगढमा राखेको परिवारको आरोप थियो । दुवै भारत बसेर केही समयपछि सर्लाही जिल्ला अदालत गई २०६९ साउन १५ गते फर्जी कागज बनाएर विवाह दर्ता गराएका थिए । त्यसपछि रौतहट आएका बेला लक्ष्मण पक्राउ परेका थिए । त्यस बेला रुबीको उमेर १४ वर्षको मात्र रहेको आमा मिथलेस देवीले बताइन् ।
प्रहरीले लक्ष्मणलाई पक्राउ गरेपछि रुबीलाई परिवारको जिम्मा लगाइएको थियो । १७ दिन प्रहरी हिरासतमा बसेपछि लक्ष्मण १५ हजार धरौटी तिरेर अदालतबाट छुटेका थिए । त्यस बेला काका र भिनाजु भने फरार थिए । अदालतमा मुद्दा चल्दै गर्दा भारतको मुजफ्फरपुरस्थित रोक्साटोलका शिवसागर साहसँग रुबीको विवाह भयो । रुबीका ४ वर्षीय छोरा छन् ।
झन्डै २ वर्ष मुद्दा खेपेका लक्ष्मणलाई २०७१ मंसिर २५ गते अदालतका तत्कालीन न्यायाधीश राधाकृष्ण उप्रेतीको एकल इजलासले सफाइ दिएको अदालतका श्रेस्तेदार उपसचिव केशर अर्यालले जानकारी दिए । अदालतबाट सफाइ पाएपछि पासवान दुई वर्षअघि वैदेशिक रोजगारीका लागि मलेसिया गएका थिए । रुबीको हत्या गर्नुभन्दा डेढ साताअघि मात्र लक्ष्मण मलेसियाबाट आई गौरमा डेरा लिई बसेका थिए । पछिल्लो समय उनले रुबीको हत्या गर्ने योजना बुनेको हुन सक्ने प्रहरीको भनाइ छ ।
गत शनिबार राति रुबीको हत्या गरी पासवानले सुटकेसमा राखेर गौर–सिर्सिया खण्डको मुडबलवा गेटनजिक छाडेर भागेका थिए । उनको खोजी गर्ने क्रममा माधोपुरमै बुधबार बिहान शरीरमा आगो लगाएर गम्भीर घाइते अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालयका डीएसपी राजु कार्कीले बताए । आत्महत्याको प्रयास गर्दा लक्ष्मणको अनुहार र शरीर जलेको छ । प्रहरीका अनुसार लक्ष्मण बोल्न सक्ने अवस्थामा छन् । अहिले काठमाडौंको कीर्तिपुरस्थित बर्न अस्पताल उनको उपचार भइरहेको छ ।
आफैंलाई आगो लगाउनुअघि पासवानले ९ मिनेटको भिडियो बनाएका थिए । भिडियोमा उनले रुबीको हत्या गरेदेखि नै आफ्नो हात काँपिरहेको बताएका छन् ।
रुबीको हत्या स्वीकार्दै उनले भनेका छन्, ‘मेरो जान मरिसकेकी छन् । म बाँचेर के गर्नु । पक्राउ परे जेल जानुपर्छ । १०/१५ वर्ष सजाय भोग्नुपर्छ । सजाय भोग्न तयार छु ।’ स्कुल पढ्दादेखि नै रुबीसँग आफ्नो गहिरो प्रेम बसेको लक्ष्मणले बताएका छन् ।

