बीरगन्जमा अवैध काठसहित दुई जना पक्राउ

spot_img

बीरगन्ज,११ असोज । बीरगन्ज महानगरपालिका वडा नम्बर ३१ बेल्वास्थित एक चिरान मिलमा सशस्त्र प्रहरी बल र वन कार्यालयको संयुक्त टोलीले छापा मार्दै ठूलो परिमाणमा अवैध काठ बरामद गरेको छ। छापाका क्रममा पाँच थान गोलिया (लगभग १८ घनफिट) काठ बरामद गरिएको हो। साथै, सोही चिरान मिलबाट बीरगन्ज–३१ प्रसौनीका क्यामोदिन मिया हजाम र वीरगन्ज–२८ का जयलाल ठाकुरलाई पक्राउ गरिएको छ।

सशस्त्र प्रहरी बेस क्याम्प सोलकपुरका नायब निरीक्षक लोकबहादुर कार्कीका अनुसार, विशेष सूचनाको आधारमा शनिबार बिहान सशस्त्र प्रहरी र सब डिभिजन वन कार्यालय सबैयाको संयुक्त टोलीले बेल्वास्थित चिरान मिलमा छापा मारेको थियो।

तर टोली पुग्नुअघि नै काठ ल्याउने पिकअप भ्यान घटनास्थलबाट गइसकेको थियो। पिकअपको नम्बर खुल्न नसके पनि त्यसको खोजी कार्य भइरहेको कार्कीले जानकारी दिए।स्थानीयबासीका अनुसार, ना १३ प १०४८ नम्बरको पिकअप भ्यानबाट उक्त अवैध काठ मिलमा झारिएको थियो। उक्त भ्यानको आधिकारिक पुष्टि नभए पनि सुराकीको आधारमा अनुसन्धान जारी रहेको स्रोतले जनाएको छ।

डिभिजन वन कार्यालय पर्साका रेन्जर भुपाल रोकायाका अनुसार, काठसहित पक्राउ परेका दुवै जनालाई कार्यालयमा राखेर अनुसन्धान भइरहेको छ। उनले भने, “चिरान मिलमा काठ ल्याउने, बेच्ने र संलग्न अन्य व्यक्तिहरूको पनि खोजी भइरहेको छ।”

spot_img

ताजा अपडेट

लोकप्रिय