काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्न सबै राजनीतिक दल र सरोकारवालालाई संयमता अपनाउन आग्रह गरेका छन्।
वडादसैंको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले आगामी फागुन २१ गते निर्धारित प्रतिनिधि सभा निर्वाचन मुलुकको स्थिरता र लोकतान्त्रिक निरन्तरताका लागि निर्णायक हुने भन्दै सहकार्य आवश्यक भएको बताए।
राष्ट्रपतिले हाल देशले भोगिरहेको चुनौती, असामान्य परिस्थिति तथा विभिन्न क्षेत्रका भौतिक र मानवीय क्षतिको उचित व्यवस्थापन गर्दै निर्वाचन सफलतापूर्वक सम्पन्न गर्नु सबैको जिम्मेवारी भएको उल्लेख गरे।
उनले शुभकामना सन्देशमा भनेका छन्, “जनप्रतिनिधिमूलक संसद् र सरकारको निरन्तरताका लागि सबैले संयमित भएर सहयोग र सहकार्य गर्नुपर्छ। यसैमार्फत मुलुकलाई विद्यमान समस्याबाट छिटो मुक्त गरी राष्ट्रिय एकता, सुशासन, स्थायित्व र समृद्धि हासिल गर्न सकिन्छ।”
साथै, उनले दुर्गा भवानीसँग मुलुकमा सुख, शान्ति र राष्ट्रिय कल्याणको प्रार्थना गर्दै दसैंले सबैमा नयाँ ऊर्जा र उत्साह भर्न सकोस् भन्ने शुभेच्छा व्यक्त गरेका छन्।


