बीरगन्ज,१५ असोज । मकवानपुरस्थित भिमफेदी कारागारबाट फरार भएका २५ वर्षीय अमजत मियाँलाई जिल्ला प्रहरी कार्यालय पर्साले बीरगन्ज बसपार्कबाट पक्राउ गरेको छ।
प्रहरीका अनुसार मियाँ पर्सा जिल्ला अदालतको आदेशअनुसार लागु औषध सम्बन्धि कसूर मुद्दामा पुर्पक्षका लागि कारागारमा थुनामा थिए। उनी गत साउन २५ गते जेनजी आन्दोलनको क्रममा कारागारबाट भागेका थिए।
जिल्ला प्रहरी कार्यालय पर्साको विशेष टोलीले गोप्य सूचनाको आधारमा आज बिहान ११ बजे मियाँलाई बीरगन्ज महानगरपालिका–१६, बसपार्कबाट नियन्त्रणमा लिएको हो।
प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी हरि बहादुर बस्नेतका अनुसार, पक्राउ परेका मियाँलाई आवश्यक कानूनी प्रक्रिया पूरा गरी सम्बन्धित कारागार कार्यालय भिमफेदी पठाइने कार्य भइरहेको छ।

