बारा,१७ वैशाख । लामो समयदेखि प्रतीक्षामा रहेका सेवाग्राहीका लागि यातायात व्यवस्था कार्यालय कलैया ले आजदेखि स्मार्ट लाइसेन्स (सवारी चालक अनुमति पत्र) वितरण सुरु गरेको छ।
कार्यालयका अनुसार यातायात व्यवस्था विभाग बाट छपाइ भई आएका नयाँ, वर्ग थप, नवीकरण तथा प्रतिलिपि सम्बन्धी लाइसेन्सहरू वितरण गर्न थालिएको हो।
सेवाग्राहीको सुविधालाई ध्यानमा राख्दै वैशाख १८ देखि २० गतेसम्म पर्ने सार्वजनिक बिदाका दिनहरूमा समेत सेवा निरन्तर सञ्चालन हुने व्यवस्था गरिएको छ। कार्यालय प्रमुख चिन्तन आचार्य का अनुसार ती दिनहरूमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म काउन्टर खुला रहनेछ।
स्मार्ट कार्ड लिनका लागि सेवाग्राही स्वयं उपस्थित हुनुपर्नेछ। साथै, पुरानो लाइसेन्स (यदि उपलब्ध छ भने) वा राजस्व तिरेको सक्कल रसिद अनिवार्य रूपमा साथमा ल्याउनुपर्ने कार्यालयले जनाएको छ।
विभागबाट ठूलो सङ्ख्यामा स्मार्ट कार्ड प्राप्त भएकाले क्रमशः सबैलाई वितरण गरिने योजना रहेको छ। लामो समयदेखि रसिदकै आधारमा सवारी चलाउँदै आएका बारा र आसपासका सेवाग्राहीहरू यस सेवाबाट राहत महसुस गर्ने अपेक्षा गरिएको छ।

