अब क्यासिनोले इजाजतपत्र लिएर मात्र विदेशी मुद्रामा कारोबार गर्न पाउने

spot_img

काठमाडौं,२४ असोज । नेपाल राष्ट्र बैंकले अबदेखि देशभरका क्यासिनो तथा सोही प्रकृतिका अन्य मनोरञ्जन संस्थाहरूलाई विदेशी मुद्रामा कारोबार गर्नुअघि अनिवार्य रूपमा इजाजतपत्र लिनुपर्ने व्यवस्था लागू गरेको छ।

राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभाग, बालुवाटारले शुक्रबार एक सूचना जारी गर्दै क्यासिनोहरूले राष्ट्र बैंकको अनुमति बिना भारतीय रुपैयाँसहित कुनै पनि विदेशी मुद्रा कारोबार गर्न नपाउने जनाएको छ।

सूचनामा भनिएको छ, “क्यासिनो लगायतका संस्थाहरूले यस बैंकबाट इजाजतपत्र लिएर मात्र विदेशी विनिमयको कारोबार गर्नु वा गराउनु पर्नेछ।” यो व्यवस्था विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा ३ र विदेशी विनिमय कारोबार इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ को परिच्छेद ४ बमोजिम लागू गरिएको हो।

अब विदेशी मुद्रामा कारोबार गर्न इच्छुक क्यासिनो तथा यस्तै प्रकृतिका संस्थाले आवश्यक कागजातसहित राष्ट्र बैंकमा आवेदन पेश गरी स्वीकृति लिनुपर्नेछ।

राष्ट्र बैंकले यो निर्णयलाई अनधिकृत विदेशी मुद्रा कारोबारमा रोक लगाउने कदमका रूपमा व्याख्या गरेको छ। बैंकले चेतावनी दिँदै भनेको छ— नियम उल्लङ्घन गर्ने संस्थामाथि ऐनअनुसार कारबाही हुनेछ।

विगतमा अनुमति बिना विदेशी मुद्रा कारोबार गर्ने केही क्यासिनो र मनोरञ्जन व्यवसायहरूमाथि कारबाहीका घटनाहरू बढ्दै गएपछि राष्ट्र बैंकले नियमन कडा पार्ने निर्णय गरेको हो।

spot_img

ताजा अपडेट

लोकप्रिय