spot_img

भारत पहिलो पटक महिला विश्वकप क्रिकेट च्याम्पियन

spot_img
spot_img

काठमाडौँ,१७ कातिक । भारतीय महिला क्रिकेट टोलीले ऐतिहासिक उपलब्धि हासिल गर्दै पहिलो पटक वान डे विश्वकपको उपाधि जितेको छ। आइतबार राति मुम्बईको डीवाई पाटिल स्टेडियममा भएको फाइनलमा भारतले दक्षिण अफ्रिकालाई ५२ रनले पराजित गर्दै च्याम्पियन बनेको हो।

पहिले ब्याटिङ गर्दै भारतले ५० ओभरमा ७ विकेटको क्षतिमा २ सय ९८ रनको चुनौतीपूर्ण योगफल तयार गर्‍यो। जवाफी ब्याटिङमा दक्षिण अफ्रिकाको टोली २ सय ४६ रनमै समेटियो।

भारतका लागि सेफाली वर्मा र दीप्ति शर्माले उत्कृष्ट प्रदर्शन गरे। ओपनर सेफालीले आक्रामक ८७ रन बनाउँदै टोलीलाई सशक्त सुरुवात दिइन्, जबकि दीप्ति शर्माले ५८ रन जोडे र बलिङमा पाँच विकेट लिँदै ‘प्लेयर अफ द म्याच’को उपाधि हात पारिन्।

वर्षाका कारण खेल ढिलो सुरु भए पनि भारतीय ब्याटरहरूले संयमित खेल प्रदर्शन गर्दै दक्षिण अफ्रिकालाई दबाबमा राखे।

दक्षिण अफ्रिकाका लागि कप्तान लउरा वल्भार्डले शानदार शतक (१०१ रन) प्रहार गरेकी थिइन्, तर उनको आउट भएपछि अफ्रिकी पारी ढल्कियो। अन्तिम विकेटको रूपमा दीप्ति शर्माले नादिन डे क्लर्कलाई आउट गर्दै भारतको ऐतिहासिक जित सुनिश्चित गरिन्।

यसअघि भारत सन् २००५ र २०१७ मा विश्वकप फाइनलमा पुगेको थियो तर दुवैपटक उपविजेतामा सीमित रहेको थियो। यसपटक भने घरेलु मैदानमा जीत दर्ता गर्दै भारतले विश्वकपको पहिलो उपाधि आफ्नो नाममा लेखाएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय