झापा,२० कातिक । सीमावर्ती भारतीय राज्य बिहारमा विधानसभा निर्वाचन सुरु भएपछि सुरक्षा सतर्कता अपनाउँदै झापाको भद्रपुर नाका ७२ घण्टाका लागि बन्द गरिने भएको छ।
बिहारमा विधानसभा चुनाव नोभेम्बर ६ (आज) देखि सुरु भइसकेको छ। दोस्रो चरणको मतदान नोभेम्बर ११ (कात्तिक २५) मा हुने कार्यक्रम रहेको छ। यही निर्वाचनलाई लक्षित गर्दै सशस्त्र प्रहरी बल नेपाल नं. २ गण, झापाले भद्रपुर नाका अस्थायी रूपमा बन्द गर्ने निर्णय जनाएको हो।
सशस्त्र प्रहरीका अनुसार नोभेम्बर ८ अर्थात कात्तिक २२ गते शनिबार साँझ ५ बजेदेखि नोभेम्बर ११ (कात्तिक २५) मंगलबारसम्म नेपाल–भारत आवतजावत रोक्ने तयारी छ।
हाल सीमा क्षेत्रमा नेपाल–भारत दुवै पक्षले कडाइ गरिएको भए पनि आवतजावत खुलै रहेको छ। सशस्त्र प्रहरीका एक अधिकारीका अनुसार भारतीय पक्षले नाका बन्द गर्न मौखिक अनुरोध गरिसके पनि आधिकारिक पत्र भने प्राप्त नभएको जानकारी दिए।
अधिकारीका अनुसार, “नेपालतर्फ चुनाव हुँदा भारतले सीमा व्यवस्थापनमा सहयोग गर्दै आएको छ र भारततर्फ चुनाव हुँदा नेपालले सहयोग गर्ने परम्परा छ। त्यही अनुरूप यसपटक पनि नाका पूर्ण रूपमा सिल गर्न तयारी गरिएको हो।” नाका बन्द भएपछि दुवै देशका नागरिकलाई सीमा पार गर्न निषेध गरिने छ।
यता, आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी चुनावी सभालाई सम्बोधन गर्न बिहारको अररिया जिल्ला पुग्ने कार्यक्रम रहेको छ। मोदीको आगमनलाई ध्यानमा राख्दै नेपाल–भारत सीमा क्षेत्रमा दुवै देशका सुरक्षा निकायले सतर्कता झनै कडा पारेका छन्।

