दिल्लीको लालकिल्ला नजिक कार विस्फोट: ८ जनाको मृत्यु

spot_img

काठमाडौं.२५ कार्तिक । भारतको राजधानी नयाँ दिल्लीस्थित लालकिल्ला नजिक सोमबार साँझ भएको कार विस्फोटमा कम्तीमा ८ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन्। सुभाष मार्गस्थित ट्राफिक सिग्नलमा पार्क गरिएको हुण्डाई आइ२० कारमा अचानक विस्फोट हुँदा आसपासमा रहेका सवारीसाधन र पैदल यात्री प्रभावित भएको भारतीय अधिकारीहरूले जनाएका छन्।

विस्फोटपछि घटनास्थलमा ठूलो संख्यामा प्रहरी तथा उद्धारकर्मी परिचालन गरिएको थियो। दिल्ली क्राइम ब्रान्च र स्पेशल ब्रान्चका टोलीहरू सूचना प्राप्त भएको १० मिनेटभित्रै स्थलमा पुगेको भारतका संघीय गृहमन्त्री अमित शाहले बताएका छन्। उनका अनुसार घटनालाई “गम्भीर सुरक्षा चुनौती”को रूपमा लिएर सबै संभावित कोणबाट अनुसन्धान भइरहेको छ। नजिकका सीसीटीभी फुटेजहरूको विश्लेषण तीव्र गतिमा भइरहेको उनले जानकारी दिए।

प्रधानमन्त्री नरेन्द्र मोदीले समेत गृहमन्त्री शाहसँग सम्पर्क गरी घटनाबारे विस्तृत विवरण लिएका छन्। प्रधानमन्त्री कार्यालयका अनुसार मोदीले घाइतेको उपचारमा कुनै कमी नहोस् भन्दै तत्काल आवश्यक व्यवस्थाका लागि निर्देश दिएका छन्।

घाइतेहरूको उपचार भइरहेको लोकनायक जयप्रकाश नारायण (एलएनजेपी) अस्पतालका अधिकारीहरूले ८ जनाको मृत्यु निश्चित भएको र ७ जनामध्ये केहीको अवस्था गम्भीर रहेको जनाएका छन्।

दिल्ली प्रहरीले घटनास्थललाई पूर्ण सुरक्षा घेराभित्र राखेर विस्फोटको कारण पहिचान गर्ने कार्य अघि बढाइरहेको छ। “हामी अहिल्यै कुनै निष्कर्षमा पुग्ने अवस्थामा छैनौँ। तथ्यगत अनुसन्धान जारी छ,” प्रहरी स्रोतले भन्यो।

लालकिल्ला नजिक यस प्रकारको घटना पछिल्ला वर्षहरूमा विरलै देखिएको हुँदा भारतको गृहमन्त्रालयले घटनाबारे विस्तृत प्रतिवेदन तयार पार्न उच्चस्तरीय संयन्त्र गठन गरेको जनाएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय