काठमाडौं,२५ कार्तिक । बिहार विधानसभा चुनावको दोस्रो र अन्तिम चरणका लागि आज बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म राज्यभर मतदान भइरहेको छ। यस चरणमा १२२ सिटका लागि १,३०२ उम्मेदवार प्रतिस्पर्धामा छन्।
करिब ३ करोड ७० लाख मतदातामध्ये १ करोड ७५ लाख महिला मतदाताको सहभागिता रहने अपेक्षा गरिएको छ। मतदानका लागि ४५ हजार ३९९ मतदान केन्द्रहरु स्थापना गरिएका छन्, जसमध्ये ४० हजारभन्दा बढी केन्द्र ग्रामीण क्षेत्रमा छन्।
सबैभन्दा ठूलो मतदाता संख्या नवादा जिल्लाको हिसुआ निर्वाचन क्षेत्रमा रहेको छ, जहाँ ३.६७ लाख मतदाता छन्। यसैगरी लौरिया, चनपटिया, रक्सौल, त्रिवेणीगंज, सुगौली र बनमखी क्षेत्रमा प्रत्याशी संख्या सबैभन्दा बढी अर्थात् २२–२२ जना रहेका छन्।
पहिलो चरणमा १२१ सिटमा मतदान सम्पन्न भइसकेको थियो, जसमा ६५ प्रतिशतभन्दा बढी मतदान भएको थियो।
दोस्रो चरणको मतदान मुख्यतया नेपाल सीमासँग जोडिएका पश्चिम चम्पारण, पूर्वी चम्पारण, सीतामढी, मधुबनी, सुपौल, अररिया र किशनগঞ্জलगायतका जिल्लामा केन्द्रित छ। यी क्षेत्रमा मुस्लिम मतदाताको उपस्थिति उल्लेखनीय भएकाले यो चरण सत्तारूढ एनडीए गठबन्धन र विपक्षी ‘इन्डिया’ गठबन्धन दुवैले अत्यन्त निर्णायक मानिरहेका छन्।
सुरक्षित मतदानका लागि राज्यभर चार लाखभन्दा बढी सुरक्षाकर्मी तैनाथ गरिएको छ।
यस चरणमा मुख्यमन्त्री नीतीश कुमार नेतृत्वको सरकारका आधा दर्जनभन्दा बढी मन्त्रीहरू समेत प्रतिस्पर्धामा रहेका छन्। आजको मतदानसँगै बिहार विधानसभा चुनावको मतदान प्रक्रिया समाप्त हुनेछ।

