काठमाडौँ,०९ मंसिर । चालु आर्थिक वर्षको साउनदेखि कात्तिकसम्म नेपालले ६ खर्ब ९ करोड ४५ लाख रुपैयाँको वस्तु आयात गरेको छ । यो रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १८.७१ प्रतिशतले धेरै हो। आयातसँगै निर्यात पनि बढे पनि व्यापार घाटा भने झनै गहिरिएको छ।
भन्सार विभागका अनुसार चालु वर्षको चार महिनामा ९३ अर्ब ४९ करोड ५७ लाख रुपैयाँको वस्तु निर्यात भएको छ, जुन गत वर्षको सोही अवधिको ५२ अर्ब ६७ करोड रुपैयाँभन्दा उल्लेख्य वृद्धि हो। तथापि, निर्यातले आयातलाई सम्हाल्न नसक्दा नेपालले चार महिनामै ५ खर्ब १५ अर्ब ९५ करोड रुपैयाँको व्यापार घाटा बेहोर्नुपरेको छ। गत वर्ष यसै अवधिको व्यापार घाटा ४ खर्ब ६० अर्ब ७१ करोड थियो।
सोयाबिन तेल व्यापारमा निर्भरता
नेपालले आयात–निर्यात गर्ने शीर्ष वस्तुमा भटमास तेल (सोयाबिन तेल) अगाडि छ। चार महिनामा अप्रशोधित भटमास तेल ३७ अर्ब ९६ करोड रुपैयाँको आयात भएको छ भने सोही अवधिमा प्रशोधित भटमास तेल ३८ अर्ब ४३ करोड रुपैयाँको निर्यात गरिएको छ। तेस्रो मुलुकबाट कच्चा भटमास आयात गरी नेपालमा प्रशोधन गरेर भारत निर्यात गर्ने प्रवृत्ति वृद्धि भइरहेको विभागले जनाएको छ। निर्यात छुट र अग्रिम भुक्तानी सुविधाले व्यवसायीलाई भारतमा बेच्न आकर्षण बढेको बताइन्छ।
सुन आयातमा असामान्य वृद्धि
चार महिनामा १५ अर्ब ७२ करोड रुपैयाँ बराबरको सुन आयात भएको छ। गत वर्ष यस अवधिमा मात्र १ अर्ब ४२ करोड रुपैयाँको सुन आयात भएको थियो। मूल्यवृद्धि र ‘सेफ हेभन’ लगानीका कारण सुनप्रतिको आकर्षण बढ्दै गएपछि आयात पनि धेरै बढेको बताइएको छ।
इन्धन आयात बढ्दा घाटा झनै बढ्यो
उक्त अवधिमा मात्रै
३१ अर्ब ८९ करोड रुपैयाँको डिजेल
२२ अर्ब ३७ करोड रुपैयाँको पेट्रोल
१८ अर्ब ८ करोड रुपैयाँको खाना पकाउने ग्यास (एलपीजी)
आयात भएको छ। यी वस्तु पूर्ण रूपमा आयातमै निर्भर भएकाले व्यापार घाटा बढाउन ठूलो भूमिका खेलेका छन्। सरकारले विद्युत्–सवारीसाधन र विद्युतीय चुलो प्रवर्द्धनमा जोड दिए पनि प्रभाव देखिन सकेको छैन।
मुख्य निर्यातिक वस्तुहरू
अलैंची : ३ अर्ब ९७ करोड बराबर
सूर्यमुखी तेल : २ अर्ब ७३ करोड
गलैंचा : ३ अर्ब २६ करोड
सूर्यमुखी बीउ तथा तेल : २ अर्ब ७३ करोड
जुटका धागो : २ अर्ब १५ करोड
प्रशोधित पाम तेल : २ अर्ब ७ करोड
धागो : २ अर्ब ६ करोड
केवल २९ मुलुकसँग मात्र नाफाको व्यापार
नेपालले १ सय ४२ भन्दा बढी मुलुकसँग व्यापार गर्दै आए पनि २९ मुलुकसँग मात्र नाफाको व्यापार भइरहेको छ। डेनमार्क, रोमानिया, स्विडेन, इराक, फिजी, लेबनान, कोलम्बियालगायत मुलुकसँग नेपाल नाफामा छ।
डेनमार्कसँगै व्यापार उदाहरणीय छ—चार महिनामा करिब ५ करोड बराबरको आयात हुँदा ३२ करोडभन्दा धेरै बराबरको निर्यात भएको छ। डेनमार्कबाट पशुखाद्य, एन्टिबायोटिक आदिको आयात गरिन्छ भने नेपालबाट फेल्टका सामान, जर्सी, कपडा, अचार, पास्ता आदि निर्यात हुने गरेका छन्।

