काठमाडाैं,१५ मंसिर । बङ्गलादेशकी अपदस्थ पूर्वप्रधानमन्त्री शेख हसिना र उनकी बहिनीकी छोरी तथा बेलायतकी सांसद ट्युलिप सिद्दिकलाई सरकारी टाउनसिप परियोजनासम्बन्धी भ्रष्टाचार मुद्दामा ढाकास्थित विशेष अदालतले दोषी ठहर गर्दै क्रमशः पाँच वर्ष र दुई वर्ष कैद सजाय सुनाएको छ।
विशेष न्यायाधीश रबिउल आलमको इजलासले हसिनाले प्रधानमन्त्री पदको दुरुपयोग गरेको र सिद्दिकले आफ्नी ठूलीआमाका लागि सरकारी परियोजनामा जग्गा उपलब्ध गराउन प्रभावशाली भूमिका खेलेको ठहर गरेको छ।
यस मुद्दामा सिद्दिककी आमा शेख रेहानालाई समेत सात वर्ष कैद सजाय सुनाइएको छ। अदालतले उनलाई परियोजनाकी मुख्य संलग्न व्यक्तिका रूपमा उल्लेख गरेको छ। सो प्रकरणमा अन्य १४ जना पनि अभियुक्त छन्।
लन्डनको ह्याम्पस्टेड–हाईगेट क्षेत्रबाट बेलायतको संसद्मा प्रतिनिधित्व गर्ने सिद्दिकले लागेका सबै आरोप अस्वीकार गर्दै यसलाई ‘राजनीतिक प्रतिशोध’ बताउँदै आएकी थिइन्। ठूलीआमासँगको सम्बन्धका कारण उनीमाथि निरन्तर दबाब बढेपछि उनले गत जनवरीमा मन्त्री पदबाट राजीनामा दिएकी थिइन्।
पूर्वप्रधानमन्त्री हसिनालाई गत वर्ष जनविद्रोह दमनमा संलग्न मानवता विरुद्धका अपराधका लागि नोभेम्बरमा मृत्युदण्ड सुनाइएको थियो। उनी हाल भारतमा निर्वासनमा बसिरहेकी छन्, र उनीमाथिका सबै मुद्दा अनुपस्थितिमै सुनुवाइ भइरहेका छन्।
सोमबारको फैसलामा हसिना, रेहाना र अन्य अभियुक्तहरूले अदालतमा कुनै कानुनी प्रतिनिधि खटाएका थिएनन्। रेहाना यतिबेला विदेशमै बसिरहेकी छिन् भने सिद्दिकका दुई दाजुभाइ र बहिनी पनि विद्रोहसम्बन्धी अन्य मुद्दाका कारण देश बाहिर नै छन्।
यसअघि पनि सोही टाउनसिप परियोजनासँग जोडिएको छुट्टै तीन मुद्दामा ढाकास्थित अर्को अदालतले नोभेम्बर २७ मा हसिनालाई २१ वर्ष कैद सजाय सुनाइसकेको थियो। उक्त फैसलामा उनका छोरा र छोरीलाई पनि पाँच–पाँच वर्ष कैद सजाय तोकिएको थियो।

