मस्को,०५ पुस । रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमी देशहरूले रूसलाई धोका दिएको आरोप लगाएका छन्। वार्षिक प्रेस सम्मेलनमा युक्रेन युद्धबारे बोल्दै पुटिनले यस संघर्ष रूसले सुरु नगरेको दाबी गरेका हुन्।
बीबीसीसँगको प्रश्नको उत्तरमा पुटिनले भने, “हाम्रो सम्मान गरियो भने कुनै सैन्य कारबाही हुने थिएन। हाम्रो सुरक्षा चासोलाई बेवास्ता गरिएको छ।” उनले नाटोले पूर्वतर्फ विस्तार नगर्ने आश्वासन दिएको भए पनि त्यसको उल्लङ्घन भएको बताएका छन्।
पुटिनले युक्रेनले शान्तिपूर्ण समाधान अस्वीकार गरेको आरोप पनि लगाएका छन्। एनबीसीसँगको संवादमा उनले स्पष्ट पारे, “हामीले यो युद्ध सुरु गरेका होइनौँ।”
प्रेस सम्मेलनमा आम नागरिकका प्रश्न र टिप्पणीहरू पनि देखाइएका थिए, जसमा महँगी नियन्त्रणको माग र कार्यक्रमलाई ‘तमासा’ जस्तो बनाइएको भन्दै आलोचना गरिएको थियो। पुटिन हरेक वर्षको अन्त्यमा यस्ता प्रेस सम्मेलन गरी स्वदेशी तथा विदेशी सञ्चारमाध्यम र सर्वसाधारणका प्रश्नको जवाफ दिँदै आएका छन्।

