इमरान खान र पत्नीलाई तोशाखाना मुद्दामा १७–१७ वर्षको जेल सजाय

spot_img

काठमाडौं । पाकिस्तानका पूर्व प्रधानमन्त्री तथा पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) का अध्यक्ष इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई पाकिस्तानको विशेष अदालतले १७–१७ वर्षको जेल सजाय सुनाएको छ। तोशाखाना (राज्य उपहार) सम्बन्धी भ्रष्टाचार मुद्दामा शनिबार डिसेम्बर २० मा फैसला सुनाइएको हो।

रावलपिण्डीस्थित अडियाला जेलमै बसेको विशेष अदालतका न्यायाधीश शाहरुख अर्जुमन्दले खान दम्पतीलाई दोषी ठहर गर्दै एक करोड ६४ लाख पाकिस्तानी रुपियाँ जरिवाना पनि तोकेका छन्। अदालतले विश्वासघातको अभियोगमा १०–१० वर्ष र भ्रष्टाचार निवारण ऐनअन्तर्गत थप ७–७ वर्षको सजाय सुनाएको हो।

अभियोग अनुसार, इमरान खान र बुशरा बीबीले सन् २०२१ मा साउदी अरबका युवराजबाट प्राप्त बुलगारी ब्रान्डको बहुमूल्य आभूषण सेट अत्यन्तै कम मूल्यमा खरिद गरेका थिए। अभियोजन पक्षका अनुसार करिब ३ लाख ८० हजार युरो मूल्य पर्ने उक्त गहना सेट उनीहरूले करिब २९ लाख पाकिस्तानी रुपियाँमै लिएका थिए, जसले गर्दा राज्यकोषमा करोडौं रुपियाँ बराबरको क्षति पुगेको दाबी गरिएको छ।

पाकिस्तानको तोशाखाना प्रणालीअनुसार विदेशबाट प्राप्त उपहारहरू राज्यको खजानामा बुझाउनुपर्ने वा सरकारले तोकेको मूल्य तिरेर मात्र खरिद गर्न पाइने व्यवस्था छ। अदालतले खान दम्पतीले यो नियम उल्लंघन गरेको ठहर गरेको छ।

पूर्व क्रिकेटरसमेत रहेका इमरान खान भ्रष्टाचारविरोधी र राजनीतिक सुधारका पक्षधर नेताका रूपमा चिनिन्छन्। उनले लामो समयदेखि सेनाको समर्थनमा बनेका सरकार र पश्चिमा प्रभावको कडा आलोचना गर्दै आएका थिए। यही कारण उनलाई राजनीतिक रूपमा लक्षित गरिएको भन्दै उनका समर्थकहरूले यस मुद्दालाई ‘राजनीतिक प्रतिशोध’ को संज्ञा दिएका छन्।

खान लामो समयदेखि विभिन्न मुद्दामा पक्राउ परेर हिरासतमा छन्। उनलाई परिवारसँग भेट्न नदिइएको भन्दै केही समयअघि जेलभित्रै हत्या हुनसक्ने आशंका पनि सार्वजनिक भएको थियो। नेपाल, बंगलादेश र श्रीलंकामा देखिएको जस्तै पाकिस्तानमा पनि खानको समर्थनमा युवा आन्दोलन चर्किन सक्ने अनुमानका बीच प्रशासनले शहरी क्षेत्रमा सभा–जुलुस र आवतजावतमा कडाइ गर्दै आएको छ।

खान दम्पतीका कानुनी सल्लाहकारहरूले उक्त फैसलाविरुद्ध उच्च अदालतमा तुरुन्तै अपिल गर्ने बताएका छन्। उनीहरूको भनाइमा यो मुद्दा आधारहीन र पूर्ण रूपमा राजनीतिक रूपमा प्रेरित छ।

spot_img

ताजा अपडेट

लोकप्रिय