वीरगन्ज,०७ पुस | अष्ट्रेलियाको बोन्डी बीचमा गत डिसेम्बर १४ मा भएको भीषण आक्रमणबारे अदालतमा गम्भीर र चकित पार्ने तथ्यहरू सार्वजनिक भएका छन्। अदालतमा पेश गरिएको अनुसन्धान प्रतिवेदनअनुसार आक्रमणमा संलग्न बाबु–छोराले घटना हुनुअघि एक गाउँको गोप्य स्थानमा हतियार प्रयोगसम्बन्धी विशेष तालिम लिएका थिए।
अनुसन्धानका क्रममा ५० वर्षीय साजिद अकरम र उनका २४ वर्षीय छोरा नविद अकरमको एक भिडियो फेला परेको छ। उक्त भिडियोमा उनीहरू राइफल र सटगन बोकेर फौजी शैलीमा अघि बढ्दै गोली चलाउने अभ्यास गरिरहेको देखिन्छ।
यहुदी समुदायले ‘हनुक्का’ पर्व मनाइरहेका बेला बोन्डी बीचमा गरिएको अन्धाधुन्ध गोलीबारीमा १५ जनाको ज्यान गएको थियो। घटनापछि प्रहरीको जवाफी कारबाहीमा बाबु साजिद अकरम मारिएका थिए भने छोरा नविद अकरम पक्राउ परेका थिए। नविदविरुद्ध आतंकवाद, १५ जनाको हत्या तथा ४० जनाको हत्या प्रयाससम्बन्धी अभियोग दर्ता गरिएको छ।
अदालतका अनुसार गोली चलाउनुअघि बाबु–छोराले मानिसहरूको भीडतर्फ चारवटा घरेलु बम प्रहार गरेका थिए, जसमा तीनवटा पाइप बम र एउटा टेनिस बल बम रहेको उल्लेख छ। ती बमहरू विस्फोट हुन नसके पनि उनीहरू प्रयोग गरेको गाडीभित्र अर्को बम फेला परेको थियो।
अनुसन्धान अधिकारीहरूले आक्रमणकारीहरूले आफैं रेकर्ड गरेका केही भिडियोहरू पनि बरामद गरेका छन्। ती भिडियोमा उनीहरू ‘इस्लामिक स्टेट’को झन्डा अगाडि उभिएर कट्टरपन्थी अभिव्यक्ति दिइरहेको देखिन्छ। अदालतले उक्त आक्रमण आकस्मिक नभई महिनौँअघिदेखि गरिएको योजनाबद्ध तयारी, तालिम र रणनीतिका आधारमा सम्पन्न भएको निष्कर्ष निकालेको छ।

