वीरगन्ज,०९ पुस । चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा वीरगन्ज नाकाबाट रु ७२ अर्ब २८ करोड मूल्यबराबरको पेट्रोलियम पदार्थ आयात भएको छ। वीरगन्ज भन्सार कार्यालयका अनुसार पाँच थरिका पेट्रोलियम पदार्थबाट मात्र सो अवधिमा रु ३० अर्ब २५ करोड राजस्व सङ्कलन भएको छ।
सूचना अधिकृत उदयसिंह विष्टका अनुसार चालु आवको पाँच महिनामा पेट्रोलियम आयात बढेसँगै राजस्वमा पनि वृद्धि भएको छ। गत आवको सोही अवधिसँग तुलना गर्दा चालु आवमा राजस्व ६.४२ प्रतिशत अर्थात् रु १ अर्ब ८३ करोडले बढी सङ्कलन भएको भन्सारले जनाएको छ।
फगत आवको पाँच महिनामा वीरगन्ज नाकाबाट रु ६९ अर्ब १५ करोड मूल्यबराबर पेट्रोलियम पदार्थ आयात भएको थियो। चालु आवमा ३५ अर्ब ३१ करोडको डिजेल, १७ करोड ३६ लाखको पेट्रोल, १२ अर्ब १७ करोडको एलपी ग्यास, ७ अर्ब २५ करोडको एटीएफ र १९ करोडको मट्टितेल आयात भएको विवरण भन्सारले दिएको छ।

