काठमाडौँ,१७ वैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय ले अस्पताल तथा स्वास्थ्य संस्थाभित्र अनधिकृत गतिविधि नगर्न कडा चेतावनी दिएको छ।
मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार बिरामी र स्वास्थ्यकर्मीको स्वीकृतिबिना फोटो तथा भिडियो खिच्ने, अनावश्यक भीडभाड गर्ने र उपचार प्रक्रियामा अवरोध सिर्जना गर्ने घटनाहरू बढ्न थालेपछि यस्तो कदम चालिएको हो।
विज्ञप्तिमा अस्पताललाई संवेदनशील क्षेत्रका रूपमा व्याख्या गर्दै अनुमति बिना भिडियो बनाउने, स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्ने वा दबाब दिने कार्यलाई प्रचलित कानुन—विशेषगरी स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ र मुलुकी अपराध संहिता, २०७४—को स्पष्ट उल्लङ्घन भएको उल्लेख गरिएको छ।
यस्ता गतिविधिले बिरामीको गोपनीयता हनन गर्नुका साथै उपचारमा समेत असर पुर्याउने भएकाले मन्त्रालयले स्वीकृतिबिना फोटो वा भिडियो नखिच्न सबैलाई आग्रह गरेको छ।
साथै, कानुनविपरीत गतिविधिमा संलग्न व्यक्तिमाथि कडा कारबाही गर्न जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायलाई निर्देशन दिइएको छ। उपचारसम्बन्धी कुनै गुनासो भए सम्बन्धित निकायमा औपचारिक रूपमा उजुरी दिन सकिने व्यवस्था रहेको पनि मन्त्रालयले जनाएको छ।

