वीरगन्ज,१६ वैशाख । बदलिँदो मौसमका कारण हावाहुरी, आगलागी र चट्याङका घटना बढ्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै जिल्ला प्रहरी कार्यालय पर्सा ले व्यापक सचेतना अभियान सुरु गरेको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गरेपछि प्रहरीले आफ्ना ६४ वटा युनिट परिचालन गर्दै ग्रामीण क्षेत्रमा माइकिङमार्फत जनचेतना फैलाउन थालेको हो।
प्रहरी उपरीक्षक सुदिप राज पाठक को निर्देशनमा सञ्चालन गरिएको अभियान अन्तर्गत स्थानीय बासिन्दालाई हावाहुरी र चट्याङबाट जोगिन आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ।
महाशाखाका अनुसार आज अपराह्न ४ बजेदेखि सुरु हुने तीव्र हावाहुरी भोलि बिहान ६:४५ बजेसम्म जारी रहनेछ। यसको प्रभाव विशेषगरी मधेश प्रदेशका पर्सा, बारा र धनुषा जिल्लामा पर्ने सम्भावना रहेको छ भने अन्य प्रदेशका केही जिल्लाहरू पनि प्रभावित हुन सक्छन्।
प्रहरीले सर्वसाधारणलाई जोखिमको समयमा खुला स्थानमा नबस्न, सुरक्षित ठाउँमा आश्रय लिन र मौसमसम्बन्धी सूचना नियमित रूपमा ध्यान दिन अनुरोध गरेको छ। सम्भावित प्राकृतिक विपद्बाट जोगिन सर्तकता नै सबैभन्दा प्रभावकारी उपाय भएको प्रहरीको भनाइ छ।

