काठमाडौँ,०९ वैशाख । यातायात व्यवस्था विभागले दुई सातामै पुनः सार्वजनिक यातायातको भाडा समायोजन गर्न प्रस्ताव गरेको छ।
विभाग स्रोतका अनुसार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पठाइएको सिफारिसमा यात्रुवाहक सवारीको भाडा करिब ९.८ प्रतिशतले बढाउने प्रस्ताव गरिएको छ। यस्तै, ढुवानी सवारीतर्फ पहाडी क्षेत्रमा करिब १४ प्रतिशत र तराई क्षेत्रमा १२ प्रतिशतले भाडा समायोजन गर्ने प्रस्ताव छ।
यसअघि गत चैत २५ गते अन्तरप्रदेश रुटमा सञ्चालन हुने सार्वजनिक यातायातको भाडा बढाइएको थियो। त्यतिबेला यात्रुवाहक सवारीको भाडा १६.७१ प्रतिशत, पहाडी क्षेत्रमा मालवाहक सवारीको २१.६८ प्रतिशत र तराई क्षेत्रमा १५.७५ प्रतिशतले वृद्धि गरिएको थियो।
पछिल्लो समय इन्धनको मूल्यमा भएको वृद्धिलाई आधार बनाएर व्यवसायीहरूले पुनः भाडा समायोजनको माग गर्दै आएका छन्। नेपाल आयल निगमले वैशाख ३ गतेदेखि लागू हुने गरी डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर ३० रुपैयाँले बढाएको थियो भने पेट्रोलको मूल्य यथावत् राखिएको छ। यसअघि चैत २६ गते पनि डिजेलमा २५ रुपैयाँ र पेट्रोलमा १७ रुपैयाँ वृद्धि गरिएको थियो।
डिजेलको मूल्यमा उल्लेख्य वृद्धि भएपछि यातायात व्यवसायीहरूले भाडा समायोजन आवश्यक भएको दाबी गर्दै सरकारमाथि दबाब बढाइरहेका छन्।
मन्त्रालयले प्रस्तावमाथि निर्णय लिएपछि नयाँ भाडादर लागू हुनेछ।

