रौतहट,०९ वैशाख । गौरस्थित यातायात व्यवस्था कार्यालय परिसरबाट सेवाग्राहीलाई ठग्ने आरोपमा एक जना बिचौलिया पक्राउ परेका छन्।
पक्राउ पर्नेमा गौर नगरपालिका–५ दोस्तिया टोलका ४० वर्षीय लक्ष्मी कुमार केशरी रहेका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार उनी सेवाग्राहीको काम छिटो गरिदिने भन्दै अनावश्यक झन्झट सिर्जना गर्ने, कागजात बोकेर विभिन्न शाखामा घुमाउने र सवारी चालक अनुमति पत्र (लाइसेन्स) बनाइदिने नाममा प्रलोभन देखाउँदै आएका थिए।
यस सम्बन्धमा प्राप्त सूचनाको आधारमा बुधबार दिउँसो प्रहरी टोली यातायात कार्यालयमा खटिएको थियो। सोही क्रममा कार्यालय परिसरभित्रैबाट केशरीलाई पक्राउ गरिएको हो। प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ। साथै, सेवाग्राहीलाई यस्ता बिचौलियाको प्रभावमा नपर्न र कुनै समस्या आएमा सिधै सम्बन्धित निकाय वा प्रहरीसँग सम्पर्क गर्न आग्रह गरिएको छ।

