नेपाल पत्रकार महासंघ सप्तरी शाखामा धर्ना

spot_img

राजविराज,०९ वैशाख । नेपाल पत्रकार महासंघ सप्तरी शाखामा बेथिति, मनोमानी र अपारदर्शी कार्यशैलीको आरोप लगाउँदै जिल्ला सहसचिव कृष्णकुमार मण्डलले धर्ना सुरु गरेका छन्।

बुधबारदेखि उनले महासंघको मूलगेटमै धर्ना दिँदै ८ बुँदे माग अघि सारेका छन्। मण्डलका अनुसार कार्यसमितिका सचिवले केही महिनाअघि नै राजीनामा दिइसके पनि ‘सिण्डिकेट’ कायम राख्न उक्त राजीनामा स्वीकृत नगरिएको छ। उनले सचिव पदसम्बन्धी अन्योल तत्काल अन्त्य गरी औपचारिक निर्णय सार्वजनिक गर्न माग गरेका छन्।

उनका अन्य मागमा नयाँ सदस्यता पारदर्शी, निष्पक्ष र मापदण्डअनुसार वितरण गर्नुपर्ने, सल्लाहकारहरूको नाम आधिकारिक रूपमा समावेश गर्नुपर्ने र महासंघभित्रका गतिविधि खुला गर्नुपर्ने समावेश छन्। मण्डलले नेतृत्वको मनोमानीविरुद्ध आवाज उठाउँदा आफूलाई सहसचिवको हैसियतमा कार्यसमिति बैठकमा सहभागी हुनबाट वञ्चित गरिएको आरोपसमेत लगाएका छन्।

यस्तै, पत्रकारहरूको हकहित, सुरक्षा र क्षमता विकासका कार्यक्रम सञ्चालन, आर्थिक गतिविधि तथा आय–व्यय सार्वजनिक गर्नुपर्ने, नियमित साधारणसभा र सदस्यता नवीकरण गर्नुपर्ने तथा विधानको पूर्ण पालना हुनुपर्ने माग उनले अघि सारेका छन्। माग पूरा नभएसम्म धर्ना जारी राख्ने चेतावनी मण्डलले दिएका छन्।

उता शाखाका अध्यक्ष श्रवणकुमार देवले उठाइएका विषयमा छलफल भइरहेको प्रतिक्रिया दिएका छन्। “यीसहित अन्य विषयमा हाम्रो छलफल जारी छ,” उनले भने।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय