वीरगंज, ८ वैशाख – जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत वरिष्ठ सई सागर शमशेर राणा पुनः विवादमा तानिएपछि निलम्बनमा परेका छन्। तस्करसँगको कथित कुराकानीको अडियो सार्वजनिक भएसँगै उनीमाथि कारबाही अघि बढाइएको हो।
धनुषामा प्रहरी–प्रहरीबीचकै आर्थिक लेनदेन नमिल्दा विवाद चर्किएको देखिएको छ। मोबाइल संवादमार्फत सार्वजनिक विवरणअनुसार तस्कर राजीव महासेठले मधेश प्रदेश प्रहरी प्रमुख डिआइजी गोविन्द थपलियाको नाम जोडेर विभिन्न व्यापारीहरूसँग रकम असुली गर्ने गरेको र उक्त रकम प्रहरीमार्फत वितरण हुने गरेको दाबी गरिएको छ।
घटना सार्वजनिक भएसँगै मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामले प्रारम्भिक अनुसन्धानका आधारमा राणालाई निलम्बन गरेको हो। उनी लेनदेनमा संलग्न रहेको आशंकामा कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
तर राणाले आफूमाथि लगाइएको आरोप अस्वीकार गर्दै आफूलाई फसाउने प्रयास भएको बताएका छन्। सार्वजनिक अडियो संवादमा उनले माथिल्लो तहबाट दबाब आएको संकेत गर्दै त्यसबाट जोगिन तस्करसँग सम्पर्क गरेको देखिन्छ।
त्यसैगरी, राणाले एक तस्कर समूहका व्यक्तिसँग गरेको थप संवाद पनि बाहिरिएको छ, जसमा उनले डिआइजीको नाममा कति रकम जाने गरेको भन्नेबारे जानकारी लिन खोजेको देखिन्छ। उक्त संवादले उच्च तहसम्म रकम असुलीको सञ्जाल रहेको संकेत गर्ने प्रयास गरेको बुझिन्छ।
यसअघि पनि राणा वीरगंजस्थित एक पार्टी प्यालेसमा भएको सामूहिक झगडा प्रकरणमा विवादमा परेका थिए।

