छ महिनामा साढे २० अर्ब रुपैयाँ बराबर धानचामल आयात

spot_img

काठमाडौं,०८ माघ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो छ महिनामा नेपालले धान र चामल आयातमा करिब साढे २० अर्ब रुपैयाँ खर्च गरेको छ। भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार, यस अवधिमा कुल २० अर्ब ३८ करोड ६५ लाख रुपैयाँ बराबरको धानचामल आयात भएको हो।

गत वर्षको सोही अवधिसँग तुलना गर्दा यस वर्ष आयातमा १ अर्ब २८ करोड रुपैयाँ बढी देखिएको छ। गत वर्ष साउनदेखि पुससम्म १९ अर्ब ९ करोड ९६ लाख रुपैयाँ बराबरको धानचामल आयात भएको थियो। यसरी आयात मूल्य करिब ६.७३ प्रतिशतले वृद्धि भएको छ।

आयातमा बासमती चामल र प्रशोधित चामल विशेष रूपमा बढेका छन्। चालु वर्ष पुससम्म ४ अर्ब २७ करोड १२ लाख रुपैयाँको बासमती चामल आयात भएको छ, जुन गत वर्षको ३ अर्ब ७६ करोड ७३ लाख रुपैयाँभन्दा धेरै हो। अन्य अर्ध–पालिस वा पूर्ण–पालिस गरिएको चामल आयात पनि बढेर ६ अर्ब २ करोड ६ लाख रुपैयाँ पुगेको छ।

धान आयातमा भने सामान्य गिरावट देखिएको छ। गत वर्ष २७ करोड ५५ लाख किलो धान आयात भएकोमा यस वर्ष २७ करोड ७ लाख किलो मात्र आयात भएको छ। तर बिउ धानको आयात भने उल्लेख्य बढेर २२ लाख ८३ हजार रुपैयाँ पुगेको छ, जबकि गत वर्ष केवल ४ हजार रुपैयाँको मात्र बिउ आयात भएको थियो।

कनिका आयात पनि यस वर्ष बढेको छ। गत वर्ष १७ लाख ५४ हजार रुपैयाँ बराबरको कनिका आयात भएकोमा यस वर्ष २२ करोड ७ लाख ६८ हजार रुपैयाँ बराबरको कनिका भित्रिएको छ। राजस्व संकलनमा भने गिरावट आएको छ। गत वर्ष धानचामल आयातबाट १ अर्ब ७६ करोड ८७ लाख रुपैयाँ राजस्व संकलन भएकोमा यस वर्ष घटेर १ अर्ब ४४ करोड २६ लाख रुपैयाँमा आएको छ।

विशेषज्ञहरूले मुलुकभित्र उत्पादन बढाउने नीति भए पनि मुख्य खाद्यान्नमा परनिर्भरताको दर बढ्दै गएमा अर्थतन्त्रमा थप चुनौती थपिने चेतावनी दिएका छन्।

spot_img

ताजा अपडेट

लोकप्रिय