काठमाडौं,२२ वैशाख । सार्वजनिक जग्गामा बसोबास गर्दै आएका सुकुम्वासी तथा अव्यवस्थित बसोबासीहरूले सरकारविरुद्ध देशका विभिन्न स्थानमा प्रदर्शन सुरु गरेका छन्। संघीय र स्थानीय सरकारले घरटहरा हटाउन सूचना जारी गरेपछि विरोधका कार्यक्रम चर्किन थालेका हुन्।
मंगलबार बाँकेको कोहलपुर, बर्दियाको गुलरिया र झापामा ठूलो संख्यामा सुकुम्वासीहरू सडकमा उत्रिएका थिए। प्रदर्शनकारीहरूले “डोजर आतंक बन्द गर” लगायतका नारा लगाउँदै जबर्जस्ती हटाउने सरकारी कदमको विरोध गरेका छन्।
यसअघि सोमबार पोखरा, हेटौँडा, घोराही र बर्दियालगायतका स्थानमा पनि विरोध प्रदर्शन भएको थियो। काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा सार्वजनिक जग्गामा बनेका घरटहरा भत्काइएपछि हजारौँ परिवार प्रभावित भएका छन्।
सरकारले स्थानीय तहहरूलाई पनि सार्वजनिक जग्गा खाली गराउन निर्देशन दिएपछि देशभर तनाव बढ्दै गएको देखिन्छ। प्रदर्शनकारीहरूले वैकल्पिक व्यवस्थाविना घर भत्काउँदा आफूहरू घरबारविहीन बन्न पुगेको गुनासो गरेका छन्।
यता प्रधानमन्त्री बालेन्द्र शाहले भने कुनै पनि नागरिकलाई आवासविहीन हुन नदिने प्रतिबद्धता जनाएका छन्। सरकारले व्यवस्थापनसहित समस्या समाधान गरिने दाबी गरे पनि विरोध प्रदर्शन भने अझै विस्तार हुँदै गएको छ।

