काठमाडौं,२२ वैशाख । लगातार चार कारोबार दिन ओरालो लागेको सेयर बजारमा मंगलबार सामान्य सुधार देखिएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज ८.७८ अंकले बढ्दै २७१२ बिन्दुमा पुगेको हो।
अघिल्लो दिन ३४ अंकले घटेको बजार आज कारोबारका क्रममा केही समय २७२५ अंकसम्म पुगे पनि त्यो स्तर कायम राख्न सकेन। उक्त अंक नै दिनभरकै उच्च बिन्दु बन्यो।
यद्यपि बजारमा सुधार देखिए पनि कारोबार रकम भने घटेको छ। सोमबार ४ अर्ब २६ करोड रुपैयाँको कारोबार भएकोमा मंगलबार ३ अर्ब ४३ करोड रुपैयाँमा सीमित भयो।
आज १६२ कम्पनीको शेयर मूल्य बढ्दा ९० कम्पनीको घटेको छ भने १६ कम्पनीको मूल्य स्थिर रह्यो।
क्षेत्रगत रूपमा हाइड्रोपावर समूह सबैभन्दा धेरै १.०२ प्रतिशतले बढ्यो। बैंकिङ, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन लगायत समूहमा पनि सामान्य सुधार देखियो। तर विकास बैंक, फाइनान्स, होटल तथा पर्यटन, माइक्रोफाइनान्स र व्यापार समूह भने घटेका छन्।
व्यक्तिगत कम्पनीतर्फ माथिल्लो लोहोरेखोला हाइड्रोपावरको शेयर मूल्य सबैभन्दा धेरै ११.१६ प्रतिशतले बढ्यो। सोलु हाइड्रोपावर, धौलागिरि लघुवित्त र झापा इनर्जीमा पनि उल्लेखनीय वृद्धि देखियो।
यता फर्वाड माइक्रोफाइनान्सको शेयर मूल्य सबैभन्दा धेरै ९.३१ प्रतिशतले घट्यो। सुपरखुदी हाइड्रोपावर र रावा इनर्जीको मूल्य पनि घटेको छ।

