कांग्रेस नेतृत्वको सरकार ढाल्ने तयारी, जसपाको नेतृत्व दाबी

spot_img

जनकपुर,२२ वैशाख । मधेस प्रदेशमा जनमत पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रदेशको राजनीतिक समीकरण फेरि परिवर्तनतर्फ उन्मुख भएको छ। नेपाली कांग्रेसका कृष्णप्रसाद यादव नेतृत्वको सरकार संकटमा परेसँगै जनता समाजवादी पार्टी (जसपा) नेपालले नयाँ सरकार गठनको गृहकार्य तीव्र बनाएको छ।

संघीय स्तरमा लोसपा र जसपा नेपालबीच भएको एकीकरणपछि प्रदेशसभामा आफूहरू सबैभन्दा ठूलो दल बन्ने दाबी गर्दै जसपाले सरकारको नेतृत्वमा स्वाभाविक दाबी प्रस्तुत गरेको छ।

जसपा नेपालले नेकपा (एमाले) र जनमत पार्टीसँग मिलेर नयाँ गठबन्धन बनाउने रणनीति अघि सारेको छ। जसपाकी प्रमुख सचेतक किरणकुमारी साहले ठूलो दलको हैसियतले सरकारको नेतृत्व आफ्नो पार्टीले गर्नुपर्ने बताएकी छन्।

एमालेले पनि वर्तमान सरकारको विकल्प खोज्ने संकेत दिएको छ। एमाले सांसद सारदा थापाले नयाँ सरकार निर्माणको प्रक्रियामा पार्टी सकारात्मक रहेको बताएकी छन्। प्रदेशसभामा जसपासँग २६, एमालेसँग २४ र जनमतसँग १२ सांसद रहेकाले नयाँ गठबन्धन बने सहज बहुमत पुग्ने देखिएको छ।

यता जनमत पार्टीभित्र भने गम्भीर विवाद देखिएको छ। प्रमुख सचेतक चन्दन सिंहले बहुमत सांसदको हस्ताक्षरसहित समर्थन फिर्ताको पत्र बुझाए पनि संसदीय दलका नेता महेशप्रसाद यादवले समर्थन कायमै रहेको अर्को पत्र पठाएपछि राजनीतिक अन्योल थपिएको हो।

विवादकै बीच जनमत पार्टीका अध्यक्ष सीके राउतले महेशप्रसाद यादवलाई हटाएर चन्दन सिंहलाई संसदीय दलको नयाँ नेता नियुक्त गरेका छन्।

मुख्यमन्त्री सतीशकुमार सिंहको राजीनामापछि अस्थिर बनेको मधेसको राजनीति फेरि एकपटक निर्णायक मोडमा पुगेको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय