गौरमा साम्प्रदायिक दङ्गा भड्काएको आरोपमा २२ जनाविरुद्ध मुद्दा

spot_img

रौतहट,१२ फागुन । रौतहटको सदरमुकाम गौर नगरपालिका–६ स्थित सबगढामा भएको साम्प्रदायिक विवाद र तोडफोड घटनामा २२ जनाविरुद्ध आपराधिक उपद्रोह तथा आगजनीको मुद्दा दर्ता गरिएको छ। प्रहरीले घटनामा संलग्न भएको आरोपमा अनुसन्धान तीव्र बनाएको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार जनमत पार्टीका जिल्ला इन्चार्ज शेख जमशैद र वडा नम्बर ६ का अध्यक्ष अबधविहारी साहलाई आवश्यक परेको बेला उपस्थित हुने शर्तमा जिम्मा जमानीमा रिहा गरिएको छ। उनीहरूसहित तीन जनाको मोबाइल फोन नियन्त्रणमा लिएर परीक्षणका लागि काठमाडौं पठाइने तयारी भइरहेको प्रहरीले जनाएको छ।

घटनामा संलग्न रहेको आरोपमा शुभनारायण साह र समिर मियाँलाई प्रहरीले पक्राउ गरिसकेको छ। प्रहरीका अनुसार पक्राउ परेका दुई जनासहित कुल २२ जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ र अन्य संलग्न व्यक्तिहरूको खोजी जारी छ।

विवाद कसरी सुरु भयो ?

प्रहरीका अनुसार बिहीबार राति विवाहको जन्ती बाजा बजाउँदै सबगढा प्रवेश गर्ने क्रममा मस्जिद अगाडि पुगेको थियो। सो समयमा नमाज पढिरहेको समूहले बाजा बजाएको विषयलाई लिएर डिजे समूहलाई कुटपिट गरेपछि विवाद चर्किएको थियो। त्यसपछि स्थिति तनावपूर्ण बन्दै तोडफोड र साम्प्रदायिक झडपमा परिणत भएको बताइएको छ।

प्रशासनले घटनाको निष्पक्ष अनुसन्धान भइरहेको जनाएको छ र क्षेत्रको शान्ति–सुरक्षा कायम राख्न सबै समुदायलाई संयमित रहन आग्रह गरेको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय