काठमाडौं,२१ वैशाख । सरकारले रासायनिक मल आपूर्तिमा भइरहेको ढिलाइ अन्त्य गर्न भारतसँग सरकार–सरकार (जीटुजी) प्रक्रियामार्फत मल खरिद गर्ने निर्णय गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कृषि सामग्री कम्पनी लिमिटेडलाई ६० हजार टन युरिया र २० हजार टन डीएपी मल आयात गर्न सैद्धान्तिक सहमति दिएको हो।
सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार अन्तर्राष्ट्रिय ग्लोबल टेन्डर प्रक्रियाबाट मल खरिद गर्दा आपूर्तिमा बारम्बार समस्या देखिएकाले वैकल्पिक व्यवस्था अपनाइएको हो।
निर्णयसँगै अब कृषि सामग्री कम्पनीले भारत सरकारसँग समन्वय गरी सिधै मल आयात गर्न सक्नेछ। सरकारले यस कदमले किसानलाई समयमै मल उपलब्ध गराउन सहयोग पुग्ने विश्वास लिएको छ।

