काठमाडौं,०९ माघ । निर्वाचन आयोगले सामाजिक सञ्जालमा पोष्ट भएका ९८ वटा सामग्री हटाउन सम्बन्धित कम्पनीलाई पत्राचार गरेको छ। आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार ती सामग्रीमा गलत सूचना (मिस–इन्फर्मेसन) र भ्रम फैलाउने सूचना (डिस–इन्फर्मेसन) रहेका कारण हटाउन अनुरोध गरिएको हो।
भट्टराईले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बताए, “९८ वटा कन्टेन्ट हटाउन कारबाहीको लागि सम्बन्धित निकायलाई पत्राचार गरेका छौं। उनीहरूले यसलाई कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन्।” तर, कुन-कुन सामग्री हटाउन भनिएको हो भन्ने बारेमा उनले विस्तृत जानकारी दिएनन्।
उनले थपे कि पाठकलाई गलत सूचना नपुगोस् भनेर आयोग सक्रिय छ। फ्याक्ट चेकको लागि निजी कम्पनीसँग साझेदारी समेत गरिएको छ। निर्वाचन आयोगले आचारसंहिता कार्यान्वयनका लागि विशेष कार्यदल गठन गरी काम गरिरहेको छ। भट्टराईका अनुसार, सामाजिक सञ्जालमा आचारसंहिता उल्लंघन हुने गरी सामग्री पोस्ट गर्नु नहुने प्रावधान पनि समावेश छ।

