काठमाडौं,१७ वैशाख । वर्षे खेतीको तयारीसँगै रासायनिक मलको अभाव दोहोरिन सक्ने चिन्ता बढिरहेका बेला विपक्षी तीन दलले सरकारसँग समयमै आपूर्ति सुनिश्चित गर्न माग गरेका छन्।
नेकपा एमाले राष्ट्रिय सभा दलका नेता प्रेमप्रसाद दंगाल को अध्यक्षतामा बसेको बैठकमा नेपाली कांग्रेस र नेकपासहितका दलहरूले संयुक्त रूपमा यस्तो माग गरेका हुन्। बैठकले अन्तर्राष्ट्रिय परिस्थितिका कारण यस वर्ष मल अभाव झन् गम्भीर हुन सक्ने निष्कर्ष निकालेको छ।
विपक्षी दलहरूले विशेषगरी अमेरिका–इरान–इजरायलबीचको तनावले विश्व बजारमा आपूर्ति प्रभावित हुन सक्ने औंल्याउँदै त्यसको असर नेपालमा पनि पर्न सक्ने बताएका छन्। “हरेक वर्ष दोहोरिने मल अभाव यस वर्ष अझ जटिल हुन सक्छ, त्यसैले सरकारले अग्रिम तयारी गर्नुपर्छ,” बैठकको निष्कर्षमा उल्लेख गरिएको छ।
दलहरूले वर्षे सिजन सुरु हुनुअघि नै आवश्यक परिमाणमा रासायनिक मलको व्यवस्था गर्न, ढुवानी र वितरण प्रणालीलाई व्यवस्थित बनाउन तथा किसानलाई सहज पहुँच सुनिश्चित गर्न सरकारलाई आग्रह गरेका छन्।
नेपालमा हरेक वर्ष धान रोपाइँको समयमा मल अभाव देखिने समस्या दोहोरिँदै आएको छ। यस्तो अवस्थामा समयमै निर्णय र प्रभावकारी व्यवस्थापन नभए उत्पादनमा समेत नकारात्मक असर पर्ने भन्दै विपक्षी दलहरूले सरकारको ध्यानाकर्षण गराएका छन्।

