काठमाडौँ,१७ वैशाख । त्रिभुवन विश्वविद्यालय का शीर्ष पदाधिकारीहरूले राजीनामा दिने तयारी गरेका छन्। सरकारले राजनीतिक नियुक्ति लिएकाहरूलाई पदमुक्त गर्ने प्रावधानसहित अध्यादेश ल्याएपछि यस्तो तयारी सुरु भएको हो।
उपकुलपति दीपक अर्याल का अनुसार यस विषयमा आन्तरिक छलफल भइरहेको छ, तर अन्तिम निर्णय भने भइसकेको छैन। “हामीबीच छलफल चलिरहेको छ, अझै निर्णयमा पुगिसकेका छैनौँ,” उनले बताएका छन्।
विश्वविद्यालय स्रोतका अनुसार उपकुलपति अर्यालसँगै शिक्षाध्यक्ष खड्ग केसी र रजिस्ट्रार केदारप्रसाद रिजाल पनि राजीनामा दिने तयारीमा छन्।
सरकारले ल्याएको अध्यादेशले विभिन्न निकायमा रहेका राजनीतिक नियुक्तिहरू पुनरावलोकन गर्ने संकेत दिएसँगै यसको प्रभाव विश्वविद्यालय तहसम्म पुगेको देखिन्छ। त्रिविका पदाधिकारीहरूले सामूहिक रूपमा राजीनामा दिने वा अन्य विकल्प रोज्ने भन्नेबारे चाँडै टुङ्गो लाग्ने अपेक्षा गरिएको छ।

